मुटु एक समस्या अनेक

Sunday, October 28, 2018

 

 

 

 

डा. दिपक कुमार मिश्र 
मुटु विभाग प्रमुख 
बी एण्ड बी अस्पतालमा 

ई.सी.जी.
यो मुटुको सामान्य जाँच हो । यसले मुटुको चाल र गतिको सामान्य जानकारी गराउँछ । हृदयघात भएनभएको सामान्यत छुट्याउन मद्दत गर्छ ।
इको
    मुटुको बनोट, भल्व, मांसपेशीको बाक्लोपन, ट्रान्स थोरासिस, मुटुको खुम्चिने शक्ति (सिस्टोलिक फंसन) र डायस्टोलिक फंसन, मुटुको झिल्लीमा पानी भएको वा नभएकोबारे सामान्य रुपमा यस उपकरणले जानकारी दिन्छ । इको गर्दा औषधि दिँदै गरिन्छ । सामान्य इकोलाई ट्रान्सथोरासिस भनिन्छ । यसका साथै ट्रान्सफेजल इको, स्ट्रेस इको, थ्री डायमेन्स्नल इको, फेटल इको आदि यसका विभिन्न प्रकार छन् ।

एबिपी मेसिन 
    यो मेसिनले २४ घण्टाको ब्लड प्रेसर र मुटुको धड्कनको मापन गरेर देखाउँछ । बिहान, दिउँसो, राति सुत्दा, बस्दा, खाँदा उच्चरक्तचापको स्थिति के छ ? भनेर एबिपी मेसिनले मनिटर गरिरहेको हुन्छ । यसले औषधि खाने वा नखाने भन्ने निक्र्योल गरिदिन्छ । यो मेसिन बहिरङ्ग विभागबाट जडान गरिन्छ । तसर्थ बिरामीलाई अस्पताल भर्ना हुनुपर्दैन ।
होल्टर 
    मुटुको धड्कन नियमित भएनभएको अवस्था हेर्ने उपकरणलाई होल्टर भनिन्छ । यसले मुटुको चाल र गतिसीमा देखाउन मद्धत गर्छ । यसबाट मुटुको चाल नियमित भएनभएको हेरिन्छ । चाल कहाँ बाट आइरहेको छ, सामान्य आउनुपर्ने ठाउँबाट वा अन्यन्त्रबाट मुटुको चाल आइरहेको छ भनेर पनि होल्टरले हेर्ने गर्छ । चिकित्सकीय परामर्शपछि बिरामीलाई होल्टर लगाइदिएर घर पठाइन्छ । सामान्यत यसलाई २४ घण्टा सम्म लगाइन्छ, आवश्यक परेको अवस्थामा ४८ घण्टा पनि लगाउनुपर्ने हुनसक्छ । सोही रिर्पोटको आधारमा बिरामीको अवस्था पहिचान गरिन्छ ।
टी.एम.टी.(ट्रेड मिल टेस्ट) 
    यो मुटुको परीक्षण गर्ने प्रविधि हो । टी.एम.टी.मा छातीमा इलेक्ट्रोडहरु लगाएर इसिजी मोनिटरसँग जोडिएको हुन्छ । बिरामीले गतिमा ट्रेड मिल मेसिनमाथि हिँड्दै गर्दा बिस्तारै मुटुको चाल र गतिविधि इसिजी मोनिटरले देखाउँछ । जाँच्ने क्रममा ब्लड प्रेसर पनि नापिन्छ । मुुटुले लोड लिँदा मुटुमा केही परिवर्तन आउँछ र ब्लकेज हुने सम्भावना भएनभएको थाहा पाउन सकिन्छ । 

इन्भेसिव सेवा 
    इन्भेसिभ सेवाअन्तर्गत मुटुको एन्जियोग्राफी, एन्जियोप्लाष्टी र पेसमेकर पर्दछन् । क्याथल्यावको माध्यमबाट ब्लक भएको मुटुको नसाको अवस्था हेर्न कोरोनरी एन्जियोग्राफीको जति महत्व हुन्छ त्यति नै पेरिफेरल एन्जियोग्राफी सेवा पनि महत्वपूर्ण छ । पेरिफेरल एन्जियोग्राफीले मुटुबाहेकका अन्य नसाहरुमा समस्या भएनभएको हेर्ने गरिन्छ । ब्लक भएको मुटुको नसाभित्र बेलुन स्टेन्ट (जाली जस्तो) राखेर नसाबाट रगत सुचारु गर्नुलाई कोरोनरी एन्जियोप्लाष्टी भनिन्छ भने मुटुबाहिरको नसामा बेलुन (जालीजस्तो) राख्नुलाई पेरिफेरल एन्जियोप्लाष्टी भनिन्छ । हृदयघात भएको बेला तत्काल गरिने उपचारलाई प्राइमरी एन्जियोप्लाष्टी भनिन्छ ।
क्याथल्याव 
    क्याथल्यावमा अत्याधुनिक उपकरण जडान गरी फ्लोरोस्कोपको माध्यमद्धारा हृदय तथा रक्तसञ्चार हुने नसा, टाउकोको रक्तनलीलगायतको अवस्था हेर्ने गरिन्छ । खासगरी यो मुटुको नसा (कोरोनरी) र पेरिफेरल एन्जियोग्राफी हेर्नमा धेरै प्रयोग गरिन्छ । रगतको नसामा ब्लकेज देखिएमा बेलुन स्टेन्ट (जाली) राखेर रगत सुचारु गर्नुपर्छ । टाइप टू र एडभान्सड् हार्ट ब्लक भएमा पेसमेकर लगाउनुपर्ने हुन्छ । यसका लागि क्याथल्याव मेसिनको प्रयोग जरुरी हुन्छ । बिरामीको मुटुको चाल सामान्य गतिभन्दचा कम भएमा बिरामी बेहोस हुनेसम्म खतरा हुन्छ । 
एन्जियोप्लाष्टी
    तत्काल हृदयघात भएका बिरामीलाई क्याथ ल्याबमा एन्जियोग्राफी गरेर ब्लक भएको नसा तुरुन्त खोल्नुपर्छ । अन्तर्रा्ष्ट्रिय मापदण्डले हृदयघात भएको ९० मिनेटभित्र एन्आियोष्टीबाट खोलिसक्नुपर्ने उल्लेख गरेको छ । टाढाबाट आउनेहरुका लागि पनि १ सय २० मिनेट भित्र उपचार गरिसक्नुपर्छ ।
हृदयघात 
    कारोनरी आर्टरी (धमनी) ले मुटुको मांशपेशीलाई आवश्यक रगत पु¥याउन नसक्दा हुने पीडा बिस्तारै बढ्दै गएर रक्तसञ्चार प्रकृया बन्द हुने समस्यालाई हृदयघात भनिन्छ ।
    खासगरी देब्रेतिर छाति दुख्ने, गिँजा, काँध र देब्रे हातमा पीडा महसुस हुने, श्वासप्रश्वासमा समस्या, मुटुको धड्कन बढ्ने, कपडा भिज्ने गरी पसिना आउने हृदयघातका लक्षण हुन् । मधुमेही, बृद्धबृद्धा र अटोनोमिक डिसफङ्सन भएका बिरामीलाई छातिको दुःखाइ नहुन पनि सक्छ ।
हृदयघातको खतरा कसलाई हुनसक्छ ?
— रक्तचाव बढि भएको मानिस
— मधुमेह नियन्त्रण नभएमा
— शारीरिक ब्यायाम नगर्ने र शारीरिक तौल अत्यधिक भएमा
— नराम्रो कोलेस्टेरोल उच्च र राम्रो कोलेस्टेरोल कम भएमा
— अत्यधिक धुम्रपान गर्ने ब्यक्ति
  वंशाणुगत समस्या भएका व्यक्ति
— उच्चरक्तचाप र हृदयघात 
    उच्च रक्तचापका कारण रक्तसञ्चारमा समस्या आउँछ । धमनीले राम्रोसँग रक्तसञ्चार गर्न नसक्दा रगतको सप्लाइ र डिमान्डको मिस्म्याच हुन्छ । लामो समयदेखि उच्च रक्तचाप भएमा मुटुको मांशपेशी बाक्लिदै जान्छ । यस्तो अवस्थामा हृदयघात हुने खतरा रहन्छ । त्यसैले समयमै रक्तचाप नियन्त्रण गर्नुपर्छ । यसरी चिकित्सकको परामर्श लिई रक्तचाप नियन्त्रण गरेमा जीवनलाई सहज बनाउन मद्दत पुग्छ ।
उच्च रक्तचाप र औषधि 
    नियमित उच्चरक्तचापको औषधि सेवन गर्ने, खानपान र शारीरिक तौललाई नियन्त्रणमा राखेर हृदयघातको जोखिम कम गर्न सकिन्छ । मधुमेहले पनि हृदयघात गराउनसक्ने भएकाले यसलाई पनि नियन्त्रणमा राख्नुपर्छ ।
मधुमेह र मुटु 
    मधुमेहको समस्यामा शरीरमा चिनीको मात्रा बढ्दै गएपछि रगतको नसामा कोलेस्टेरोल जम्मा हुँदै अन्तमा प्लाक बन्नसक्छ । प्लाक स्टेवल भएमा त समस्या हुँदैन तर उच्चरक्तचाप, तनाव तथा अन्य कारणले प्लाकमा हलचल भएमा बिस्तारै यसले रक्तनलीलाई पूर्णरुपमा बन्द गराइ हृदयघातसम्म गराउनसक्छ । त्यसैले मधुमेहलालई नियन्त्रण गर्न आवश्यक हुन्छ ।
धुम्रपान र हृदयघात 
    हृदयघातको जोखिम कारकमा धुम्रपान पर्छ । धुम्रपानले शरीरमा नराम्रो कोलेस्टेरोल (एलडिएल) को मात्रा बढाउँछ । धुम्रपानले रगत सञ्चार हुने धमनी (आर्टरी) लाई कडा बनाउँछ र शरीरको विभिन्न भागमा पुग्नुपर्ने अक्सिजन पुग्न सक्दैन र हृदयघातको सम्भावना बढाउँछ ।