सामुदायिक विकास र सप्तरीका गैरसरकारी संस्थाको क्षमता अभिवृद्धि

Sunday, November 04, 2018

सुरेन्द्र प्रसाद गुप्ता
कार्य–पत्र प्रस्तोता
१. विषय प्रवेश
    नयाँ सहश्राब्दीको शुरुवातसँगै सरकारको भूमिकामा व्यापक परिवर्तन आएको छ । जताततै सरकारी क्षेत्रकै एकाधिकार कायम राख्नुपर्ने पुरानो मान्यता र परिपाटीमा अरु क्षेत्रले पनि भूमिका खोज्ने र दावेदार हुने संस्कृतिको निर्माण हुन थालेको छ । वर्तमान परिवेशमा गैरसरकारी संस्थाहरुले मुलुकको अर्थिक तथा सामाजिक विकासमा खेल्दै आएको भूमिकालाई कम आँकलन गर्न सकिन्न । सप्तरीमा कार्यरत गैससहरुले पनि सामुदायिक विकास र सचेतना तथा विपद्का सन्दर्भमा गरेका कार्यहरु उल्लेखनीय छन् । यहाँका गैससहरुले समाजको सशक्तिकरणका लागि सहजकर्ताका रुपमा थुप्रै सराहनीय कार्यहरु गरेका छन् । उपभोक्ता हितको संरक्षण, विकासका  प्रतिफलहरुको समान वितरण, स्थानीय श्रोत–साधनको परिचालन, नेतृत्व विकास, नागरिक सचेतना अभिवृद्धि लगायतका विषयमा समेत सप्तरीका गैससको अमूल्य सहयोग र साथ छ ।
    भ्रष्टाचार विरुद्ध लड्नेदेखि सुशासनको पहरेदारीगर्ने काममा समेत जिल्लाका गैससहरुले भूमिका निर्वाह गर्दै आएका छन् । नीति–निर्माण, निर्णय प्रक्रिया र विकासका समग्र चरणमा सक्रिय जनसहभागिता जुटाउन, जवाफदेहिता, पारदर्शिता अभिवृद्धि गर्न र समुदायलाई आफ्नो अधिकारप्रति जागरुक बनाउन सप्तरीका गैससहरुले धेरै उपलब्धि हासिल गरेका छन् ।
    इच्छाशक्ति हुँदाहुँदै पनि कहिले अनुभवको अभाव त कहिले साधन श्रोतको न्यूनता लगायतका कारणबाट सप्तरीका गैससहरुले जति उपलब्धि समुदायलाई दिनुपर्ने हो त्यसमा कमी भईरहेको महसुस स्वयं गैससहरुले गरिरहेका छन् । यसै सन्दर्भमा सामुदायिक विकास र गैरसरकारी संस्थाहरुको अभिवृद्धि क्षमता, विषयको सेरोफेरोमा रही यो कार्यपत्र प्रस्तुत गरिएको छ ।
    गैरसरकारी संस्था महासंघ सप्तरीको पहिलो नागरिक सम्मेलन र आठौं अधिवेशनको अवसर पारेर मलाई उपरोक्त विषयमा कार्यपत्र प्रस्तुत गर्ने मौका दिनु भएकोमा अध्यक्ष श्री शम्भुनन्द चौधरी सहित सिङ्गो गैसस सप्तरी परिवारप्रति आभार व्यक्त गर्दछु ।
२. गैरसरकारी संस्थाको उदय एवं विकास र सप्तरी
    गैरसरकारी संस्था भन्ने शब्द सर्वप्रथम सन् १९४७ को राष्टसंघको बडापत्रसँगै अन्तर्राष्ट्रिय समुदायमा शुरु भएको हो, तापनि परम्परागत स्वयंसेवी संस्थाहरु भने सबै समाजमा सबै समयमा रहने गरेका छन् । गैससहरु कुनै पनि समाजका  लागि अपरिहार्य हुन्छन् । सप्तरीको इतिहास हेर्ने हो भने पनि यहाँको समाज परम्परागत रुपमा समेत शासन व्यवस्था, श्रोत परिचालन र सहकारी क्षेत्र लगायत हरेक क्षेत्रमा अत्यधिक रुपले स्वयंसेवीपनमा भर पर्ने गरेको पाईन्छ । जिल्लामा धेरै अघिदेखि स्वयंसेवी भावनाका साथ समुदायमा कार्यहरु हुँदै आएका छन् । धर्म भकारी, विद्यालय वा समुदायका लागि जग्गा दान, इनार र कुवाँ बनाउनु जस्ता कार्यहरु हाम्रा समुदायका परम्परागत स्वयंसेवी कार्यका केही नमूना हुन् ।
    गुठी जस्ता कतिपय स्वयंसेवी संस्थाहरु सन् १७६९ मा भएको नेपालको भौगोलिक एकीकरण पछाडिको समयमा पनि दुर्गम क्षेत्रका गाउँहरुलाई नियन्त्रण गर्ने उदेश्यले प्रचलनमा रहेका थिए । नेपालको सबैभन्दा पहिलो औपचारिक गैसस चाहिं ‘नेपाल गाँधी चर्खा प्रचारक गुठी’लाई नै मान्ने गरिन्छ । यो तुलसीमेहरद्वारा सन् १९२६ मा स्थापना भएको थियो । यो गुठी स्थापना भएको २१ वर्षपछि अर्थात् सन् १९४८ मा ‘परोपकार संस्था’ को नामबाट दोश्रो औपचारिक गैसस स्थापना भएको पाईन्छ । सन् १९५१ मा जहानियाँ राणाशासनको पतनपछि परम्परागत रुपमा तराई मधेशमा बसोबास गर्ने नेपाल आदिवासी थारुहरुले ‘थारु कल्याण समिति’ नामक गैसस गठन गरेका थिए । सम्भवतः नेपालमा सर्वप्रथम आयातित गैसस चाहिं सन् १९५९ मा स्थापित ‘रोटरी क्लब’ नै थियो भने पहिलो वैदेशिक सहयोगबाट संचालित गैसस सन् १९६० मा स्थापित ‘नेपाल राष्ट्रिय परिवार नियोजन संघ’ थियो ।
    यसैगरी सप्तरीको समग्र विकासको पवित्र उद्देश्यका साथ औंलामा गन्न सकिने केही गैससहरुका साथ छाता संगठनका रुपमा जिल्लामा वि.सं. २०५० सालमा गैरसरकारी संस्था महासंघ सप्तरीको गठन भयो । महासंघ सप्तरीको पहिलो अध्यक्षका रुपमा ई. इन्द्रनारायण देवले २०५० बैशाख ८ गते बागडोर सम्भालनु भएको थियो । यहाँको दुई वर्षे कार्यकालमा सिमित साधन–श्रोत र सिमित जनशक्तिका बावजुद पनि गैसस महासंघ सप्तरीले केही उल्लेखनीय कार्यहरु ग¥यो । अहिले गैसस महासंघ सप्तरीमा ९५ सदस्य संस्थाहरु (नवीकरण गरेका) समेटिएका छन् भने अत्यधिक संख्यामा असंगठित रहेको गैससहरु महासंघ सप्तरीमा समेटिन बाँकी नै रहेका छन । तिनीहरुलाई पनि समेट्न महासंघ सप्तरीले सक्रियता बढाउनु पर्ने देखिन्छ । नेपालमा वि.सं. २०४६ मा प्रजातन्त्र र बहुदलिय राजनीतिक प्रणालीको स्थापनासँगै सप्तरीमा पनि गैससहरुको वृद्धि एकदमै छिटो भएको पाईन्छ ।
३. सप्तरीका गैससहरुका केही सबल पक्ष
    सरकारी संयन्त्रको सिमितता र श्रोत–साधनको न्यूनताका बीच यहाँका गैससहरुले सरकारी निकायसँगै हातेमालो गरी विकासका बाटाहरु पहिल्याउँदै आइरहेको छन् । जहाँ सरकारी संयन्त्र पुग्न सकिरहेका छैनन् त्यहासम्म पनि गैससहरु पुगेर समुदायमा सेवा पु¥याइरहेका छन् । नेपाल सरकारले पनि गैससलाई विकासको साझेदारका रुपमा मान्दै आएको छ । भौगोलिक विकटता, मौसमको प्रतिकूलता, द्वन्द्वको स्थिति आदिलाई छिचोल्दै सप्तरीका गैससहरुले समुदायसँग विकासका बाटो कोर्दै आईरहेका छन् ।
    विश्वमा करीब एक करोड गैसस र करीब ४० हजार अन्तर्राष्ट्रिय गैससहरु रहेका छन् । यो संख्यालाई एउटा देश मान्ने हो भने अर्थतन्त्रमा गैसस विश्वको पाँचौं नम्बरमा पर्दछ । विश्वका धेरै देशहरुमा गैससको उपस्थिति छ र अनुसन्धानले के देखाउँछ भने विश्वका करीब ८० प्रतिशत जनताले गैससले सकारात्मक सामाजिक परिवर्तनमा भूमिका खेलेको विश्वास गर्दछन् । सप्तरीका गैससहरुप्रति पनि (केही अपवादलाई छोडिदिने हो भने) समुदायको सकारात्मक प्रतिक्रिया नै पाइएको छ । सप्तरीमा गैससहरुको कार्यशैली र कार्य अनुभवका आधारमा देहायका केही सबल पक्षहरु देखिएका छन् ः–
क) समुदायले गैससलाई आफ्ना सहयात्रीका रुपमा विश्वास गरेको
ख) सवाल÷मुद्दा उठान र सोको निराकरणमा गैससको भूमिकालाई समुदाय र सरकारी निकायले अंगीकार गरेको 
ग) अधिकतर गैससका कार्य प्रभावकारी र उदाहरणीय बनेको
घ) गैससको क्षेत्रगत फैलावट र सवालगत संजालको विस्तार भएको
ङ) अति विकट क्षेत्र र द्वन्द्वरत क्षेत्रमा समेत कार्य गर्न गैससहरु सफल भएको
च) अभियानमुखी कार्यहरु सफलतापूर्वक सम्पन्न गर्दै गरेको
छ) अनुभवका आधारमा कार्य शैलीमा सकारात्मक भिन्नता आउँदै गरेको
ज) सरकारलाई पृष्ठपोषण र दबाव दिई नीतिगत सवालमा परिवर्तन ल्याउन जनवकालतीय भूमिका सशक्त बन्दै गएको
झ) ब्यूरोक्र्याट शैलीभन्दा फरक, लचिलो र फराकिलो कार्यशैली भएको 
ञ) समुदायसँग विभिन्न सवालमा काम गरी राज्यलाई सहयोग गर्ने गरेको 
४. सप्तरीका गैससहरुका कार्यगत मुख्य प्रवृत्तिहरु
    सप्तरीका गैससहरुले समुदायसँग काम गर्ने अनुभव धेरै लामो छैन । तर, पनि यस कालखण्डमा गैससहरुले आफ्ना बुताले भ्याएसम्म विविध विकासिय कार्यहरु गर्दै आएका छन् । यसरी काम गर्ने दौरानमा यहाँका गैससहरुका मुख्य प्रवृत्तिहरु यसरी पाइएका छन् ः–
क) दर्ता भएका तर काम नगरी थन्केका
ख) दर्ता भएका र बेलाबखत स्थानीय तह र अन्य सहयोगमा केही सामाजिक कार्य गर्ने गरेको
ग) दर्ता नभएका तर समाजका बेथिति विरुद्ध कार्य गर्ने गरेको
घ) विषयगत विशेषज्ञताको न्यूनता र बहुउद्देश्य भएको
ङ) दलगत राजनीतिलाई गैससको कार्यबाट बल पु¥याएको 
च) समुदायलाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रम संचालन गरिरहेको
छ) दातृ निकायमाथि बढी निर्भर रहने गरेको
ज) ुध्ष्तज तजभ ऋयmmगलष्तथु भन्दा ुँयच तजभ अयmmगलष्तथु भएको
५. सप्तरीका गैससका प्रवृत्तिगत केही चुनौतीहरु
    सप्तरीका गैससहरुले विगतदेखि नै कतिपय महत्वपूर्ण कार्यहरु सफलतापूर्वक संचालक गर्दै आएका छन् । चाहे त्यो विपद् व्यवस्थापनको कार्य होस् अथवा सामुदायिक विकासका कार्यहरु होस्, गैससले आफ्ना अनुभवका आधारमा गर्दै आएका छन् । तर, दक्षता र क्षमताका अभावमा गरिएका कतिपय कार्यहरुले चाहे जस्तो उपलब्धि हासिल गर्न अप्ठ्यारो हुने गरेको हुन्छ । काम गराइका आधारमा सप्तरीका गैससहरुमा प्रवृत्तिगत रुपमा देखिएका केही चुनौतीहरुः–
क) संस्थागत क्षमताको अभाव
ख) दातामुखी बढी हुनु
ग) नेतृत्वदायी क्षमताको अभाव
घ) साझा मुद्दामा संस्था–संस्थाबीच समन्वय र साझेदारीको अभाव
ङ) मानवीय श्रोत व्यवस्थापनको अभाव
च) स्थानीय श्रोत र साधनको पहिचान र परिचालनको अभाव
छ) सिमित व्यक्तिको हालीमुहाली
ज) दिगोपनालाई ख्याल नगरी परियोजना सम्पन्न गर्न हतारो हुनु
झ) दातृ निकाय पाउन गाह्रो हुनु
ञ) अनुगमन र मूल्यांकनलाई प्राथमिकतामा नराख्ने गरेको 
६. चुनौतीको सामना गर्न गैसस महासंघ सप्तरीले चाल्नुपर्ने केही कदम
    गैससहरुका थुप्रै सबल पक्षहरु हुँदाहुँदै पनि कतिपय गैससहरुमाथि विभिन्न खाले आरोपहरु लाग्दै आएका छन् । यस्ता आरोपहरुको चित्तबुझ्दो जवाफ गैससहरुले आफ्ना निःस्वार्थ सेवाबाट मात्र दिन सक्दछन् । तसर्थ गैसस महासंघ सप्तरीले त्यस्ता गैससहरुको पहिचान गरी क्रमशःः सुधारका लागि आवश्यक उपायहरु बेलाबेलामा अवलम्बन गर्न जरुरी र अपरिहार्य देखिन्छ । गैसस महासंघ सप्तरीले गैससको कार्यशैलीमा समयानुकूल परिवर्तन गर्न र क्षमता अभिवृद्धिका लागि कदम चाल्न जरुरी छ । यहाँ केही उपायहरु सुझावका लागि प्रस्तुत गरिएका छन् ःक) गैससलाई काम र विशेषज्ञताका आधारमा वर्गीकरण गर्न समन्वय गर्ने
ख) श्रोतको पारदर्शी व्यवस्थापनमा सक्रियता देखाउने
ग) दलगत राजनीतिलाई लाभ पु¥याउने प्रवृत्तिलाई निरुत्साहित गर्ने
घ) स्थानीय तहसँग विशेषज्ञताका आधारमा समन्वय र सहकार्य गर्ने
ङ) सामाजिक परिचालनमा थप जोड दिने
च) समुदायलाई आत्मनिर्भर बनाउने खालका दिगो कार्यक्रममा जोड दिने
छ) संस्थागत क्षमताको विश्लेषण गरी क्षमता अभिवृद्धिका लागि सक्रियता बढाउने
ज) उत्कृष्ट कार्य गर्ने संस्थालाई सम्मान गर्ने
झ) स्वयंसेवी (ख्यगिलतभभच) हरु बढी भन्दा बढी तयार गर्न कार्य गर्ने
ञ) सिमितताभन्दा फराकिलो दायरामा गैससलाई संचालन गर्न प्रोत्साहित गर्ने
७. निष्कर्ष
    गैरसरकारी संस्था महासंघ सप्तरीले क्षमता अभिवृद्धिका सवालमा समुदायको विकाससँगै संस्थागत क्षमता अभिवृद्धिलाई पनि प्राथमिकतामा राख्न जरुरी देखिन्छ । तथ्याङ्क नभए पनि सप्तरीका गैससहरुले केही हजार जनशक्तिलाई रोजगारीको अवस्था सृजना गरेको छ । गैससले काम गर्ने ठाउँमा समुदायले संस्थासँग अत्यन्तै धेरै अपेक्षा समेत राख्ने गर्दछन् । सकारात्मक परिवर्तन, विकास निर्माण, अभियान संचालन तथा विपद्का बेला गैससहरुले उदाहरणीय भूमिका निर्वाह गरेका छन् । आफुभित्र रहेका केही कमजोरीहरुलाई पखाल्दै जाने हो भने समुदायको दृष्टिमा गैससको विश्वसनीयता अझै बढ्दै जानेमा दुईमत कदापि हुन सक्दैन ।
    राजनीतिक स्थिरता, सुशासन र जवाफदेहिताको निमित्त संविधानको पूर्ण कार्यान्वयनःविकास समृद्धि र रुपान्तरणका लागि नागरिक अभियान भन्ने मूल नाराका साथ आयोजना गरिएको गैसस महासंघ सप्तरीको पहिलो नागरिक सम्मेलन तथा आठौं जिल्ला अधिवेशन सफलतापूर्वक र आपसी सौहाद्रको वातावरणमा सम्पन्न होस् भनी हार्दिक शुभकामना छ ।
    (गैरसरकारी संस्था महासंघ सप्तरीले राजविराजमा २०७५ कार्तिक १७ र १८ गते आयोजना गरेको पहिलो नागरिक सम्मेलन तथा आठौं जिल्ला अधिवेशनमा प्रस्तुत कार्यपत्र)