आँधीका कारण भारतमा ३३ जनाको मृत्यु

आँधीका कारण भारतमा ३३ जनाको मृत्यु

Sunday, November 18, 2018

नयाँदिल्ली, २ मङ्सिर (रासस÷एएफपी) ।
    भारतको पूर्वीक्षेत्रमा आएको आँधीका कारण ३३ जनाको मृत्यु भएको छ । प्रकोप व्यवस्थापनसम्वन्धी निकायका उच्च अधिकारीले शक्तिशाली आँधीका कारण अरु पनि धेरै क्षति भएको आइतबार जानकारी दिएका छन् । ‘साइक्लोन गाजा’ नाम दिइएको सो आँधी प्रतिघण्टा १२० किलोमिटरको गतिमा आएको समाचारमा जनाइएको छ । आँधी तमिलनाडु राज्यमा शुक्रबार आएको हो ।
    आँधीले हजारौँ रुख भाँचिएका छन् भने ठूलो संख्यामा घर भत्किएका छन् । घरबारविहिन भएका हजारौँ स्थानीय बासिन्दालाई शिविरहरुमा राखिएको छ । मृत्यु भएका मध्ये २० जना पुरुष र ११ जना महिला छन् । त्यसैगरी दुई जना बालबालिकाको पनि आँधीमा परेर मृत्यु भएको अधिकारीले बताएका छन् ।
    “घरबारविहीन भएकाको संख्या एक लाख ७७ हजार ५०० पुगेको छ । उनीहरुलाई ३५१ वटा शिविरमा राखिएको छ,” एक अधिकारीले पत्रकारसँग भने । प्रदेशका मुख्यमन्त्री इडाप्पाडी पालानीस्वामीले पीडित प्रत्येक परिवारलाई १४ हजार डलरका दरले क्षतिपूर्ति दिने घोषणा गर्नुभएको छ । अधिकांशको मृत्यु बाढीले बगाएर, घरले च्यापेर र विद्युतीय गढबढीका कारण भएको छ ।