सामाचकेवा ः प्रेम र आत्मीयताको सन्देश

Thursday, November 22, 2018

बर्दिवास, ६ मङ्सिर (रासस) ।
    ‘वृन्दावनमें आइग लगै, कोई नई मुझाव रे... 
    हमर भैया ...(फलना) भैया , दौडि –दौडि मुझाव हे..!!’ (बृन्दावनमा आगो लाग्दा निभाउने कोही भएनन्, मेरा दाजु (दाजुको नाम जोड्दै) दौडँदै आएर त्यो आगो निभाए) 
    महोत्तरीसहितका मिथिलाक्षेत्रमा कात्तिक शुक्लपञ्चमीका दिन शुरु गरेर कात्तिक पूर्णिमाका दिन समापन गरिने सामाचकेवा पर्वमा मिथिलानी (मिथिलाका नारी) ले आफ्ना दाजुभाइको सौर्य बखान गर्दै गीत गाइरहेका छन् । 
    कात्तिक शुक्लपक्षका पछिल्ला ११ दिनभित्र चकमन्न रातमा आफ्नो बस्तीको चौबाटामा भेला भएर आआफ्ना दाजुभाइको बहादुरी वर्णन गीतमा गुञ्जाउँदै मनाइने यो पर्व अब समापनको सँघारमा छ । पूर्णिमा तिथिको रात्रिभोग भएका दिन ‘सामा खेल’ भनिने सामाचकेवा पर्व समापन गर्ने परम्परानुसार यसपालिको यो पर्व बिहीबार राति समापन गरिन्छ । कात्तिक पूर्णिमा शुक्रबार बिहानभरि रहने भए पनि पूर्णिमाको रात्रिभोग बिहीबारै भएकाले पर्व राति समापन हुने मिथिलानी बताउँछन् ।
    पर्वमा गाइने गीत सबै दाजुभाइको सौर्य (बहादुरी) वर्णनको भाव समेटिएका हुन्छन् । कसैलाई आपत् पर्दा, दिदीबहिनीलाई अप्ठ्यारो पर्दा तथा बस्ती वरपर कुनै समस्या आइपर्दा त्यसको समाधान मेरै दाजु वा भाइले गरिरहेका हुन्छन् भन्ने भावका गीत आआफ्ना दाजुभाइको नाम नै जोडेर मिथिलानी गाउँछन् । यस्ता गीत सुन्दा दिदीबहिनी नहुनेहरूले “मेरा चाहिँ दिदीबहिनी किन भएनन् ?’ भन्ने गुनासो गरेको भेटिन्छ
    द्वापर युगमा श्रीकृष्ण पुत्र साम्बले आफ्नै पिताको श्रापले चराको जुनीमा पुगेकी आफ्नी बहिनी सामा र उनका प्रेमी चक्रधर (चकेवा) को श्रापमोचनका लागि गरेका कठोर तपस्याको सम्झनामा दिदीबहिनीले दाजुभाइको सम्मानमा यो पर्व मनाउने चलन बसेको मानिन्छ । सामा र चक्रधरको प्रेमबारे बढाइचढाई श्रीकृष्णलाई एउटा चुगला (कुरौटे) ले कुरा लाएपछि रिसाएका श्रीकृष्णले दुवैलाई चरा हुने श्राप दिएको प्रसङ्ग नै पर्वको मुख्य कथावस्तु रहेको याज्ञबल्क्य लक्ष्मीनारायण विद्यापीठ मटिहानी (महोत्तरी) का उपप्राध्यापक ध्रुव राय बताउनुहुन्छ । पिताको श्रापले चरा भएकी आफ्नी बहिनी सामा र उनका प्रेमीको श्रापमोचनका लागि साम्बले शिवको कठोर तपस्या गरेर पिता रिझाउन सक्ने वरदान दिएको र सो वरदानको प्रभावले पितालाई रिझाएर दुवैको श्रापमोचन गराएर विवाह गराएकाले दाजुको उपकार वर्णन पर्वमा गरिएको उपप्राध्यापक रायको भनाइ छ । 
    पर्वमा कात्तिक शुक्लपञ्चमीका दिन माटो मुछेर बनाइएका बृन्दावन, सप्तर्षि, चुगला, चरा र दाजुभाइका आकृति दियो बालिएको डालामा राखेर चौबाटामा गीत गाइने मुख्य पक्ष रहेको छ । साम्बलाई तपस्या गर्न प्रेरणा दिने सप्तर्षि, साम्बले तपस्या गरेको ठाउँ बृन्दावन र साम्ब आकृति सकारात्मक पात्र, चरा कथाका मुख्य प्रतीक र चुगला आकृति नकारात्मक पात्रका रुपमा गीतमा उभ्याइने गरिएको सामाखेलमा सरिक महोत्तरी जिल्ला, भङ्गाहा नगरपालिका–४ की सुनैना ठाकुर बताउनुहुन्छ । यसबाहेक ढोलिया, भरिया, वनतीतर, झाँझी कुत्ता, भैया बटतकनी र मलिनियाँ नाउँ दिइएका आकृति पनि पात्र हुन्छन् ।
    माटो मुछेर बनाइएका आकृतिसँग पात्रअनुसारको गीति संवाद गरेर मिथिलानी मनोवाञ्छित फल प्राप्तिको कामना गर्छन् । उनीहरू आकृतिहरूलाई गीति भावमा ढालेर संवादको आनन्द उठाउँछन् । गीत गाइरहँदा गीतको भावनुसार बृन्दावनमा आगो लगाउन र चुगलाको मुखमा आगो झोस्न गीतसँगै मिथिलानीको हात पुगिरहेको हुन्छ । डालामा राखिएका सबै आकृतिसँग संवाद गर्दै गाइएका गीत जीवन्त पात्रका रुपमा उभ्याइन्छन् । गीत गाइने दैनिकीभित्रै महिलाले कुरौटेको मूर्तिमा आगो झोस्दै यस्तो प्रवृत्तिको कहिल्यै भलो नहुने आशयको गीत लयबद्घ रुपमा गाउनाका साथै आफ्ना दाजुभाइ भने ज्ञानी, परोपकारी, पराक्रमी, सहयोगी र दिदीबहिनी भनेपछि हुरुक्कै हुने आनीबानीका रहेको भावलाई गीतीलयमा बाँध्न भने चुकाउँदैनन् । 
    मिथिलामा दाजुभाइ दिदीबहिनीबीच प्रेम, सद्भाव र समर्पणको प्रतीक मानिने यो पर्व शुक्रबार समापन गर्न मिथिलानीहरू दाजुभाइलाइ निम्ता गर्न व्यस्त छन् । “भैया, तुँ आइ सामा भसावबेर जरुर अइहा” (दाजु, बिहीबार सामा समापन गर्ने बेला तपाईँ अवश्य आउनुहोला) महोत्तरीकै बर्दिवास नगरपालिका–२ की रेशमी दत्तले जनकपुर बस्ने दाजुलाई मोवाइलबाटै सम्पर्क गरेर निम्ता गर्नुभयो । दाजुले जवाफमा “हो तै बहिन” (हुन्छ बहिनी) भनेको कुराले खुशी हुनुभएकी रेशमीले अब दाजुका लागि मिष्ठान्न परिकार र वस्त्र परिधानको जोहोमा लाग्ने जानकारी दिनुभयो । 
    सामा खेल्दा डालामा राखिने आकृतिहरू पूर्णिमाका दिन दाजुभाइले घुँडामा राखेर फुटाएपछि ती टुक्रा दिदीबहिनीले जोतेको खेतमा माटाले पुरेर सामा विसर्जन गरिने मैथिल परम्परा छ । सामा जोतेको खेतमा पुर्दा पनि “जोतल खेतमे बसिह हे, बसिह हे” (अब वर्ष दिन जोतेकै खेतमा बस है) भन्ने गीत गाएर यो पर्व दिदीबहिनीले समापन गर्छन् । समापनका बेला दाजुभाइलाई वस्त्र परिधान लगाई दिने र मिष्ठान्न परिकार ख्वाउने चलन छ । त्यसैगरी दाजुभाइले पनि वस्त्र, आभूषण र गच्छेअनुसारको नगद दक्षिणा दिदीबहिनीलाई दिन्छन् । पर्वले आपसी प्रेम र आत्मीयता वृद्घि एवं सहयोग विस्तारमा सकारात्मक सन्देश दिएको बर्दिवास–९ पशुपतिनगरकी समाजशास्त्री वैजयन्ती गिरीको धारणा छ ।