बिर्सन सकिन्न स्व.परमेश्वर प्रसाद सिंह “दिनेश” लाई

Saturday, November 24, 2018

त्रिपुरारिशरण
    अवकाश–प्राप्त सह–प्राध्यापक स्व.परमेश्वर प्रसाद सिंह “दिनेश”लाई बिर्सन सकिदैन । महेन्द्र विन्देश्वरी कलेज, राजबिराजमा उहाँको नियुक्ति मेरो नियुक्तिको दुई बर्ष पछि भएको थियो । शुरुमा एक वर्षसम्म स्व.जगदेव झा, म र उहाँ  एउटै घरमा संग–संगै बसेका थियौं । पछि उहाँ र स्व.जगदेव झा वषौं सम्म बेग्लै एउटै घरमा संगै बस्नु भयो । महेन्द्र विन्देश्वरी कयाम्पस (कलेज)बाट आवास उपलव्ध गराइए पश्चात् दुबै एक–अर्कासंग टाँसिएका आवासहरुमा बस्नु भयो ।
    कलेजमा दुई जना “परमेश्वर” हुन गएका कारणले एकलाई अर्कोदेखि छुट्याउन उहाँलाई “सिंन्हा साहेब” र डा.परमेश्वर यादवलाई “परमेश्वर बाबु”  नामले सम्बोधित गर्नु पर्यो ।
    कलेजमा नियुक्त हँुदा स्व.परमेश्वर प्रसाद सिंह “दिनेश” दुई विषयमा– हिन्दी र मैथिलीमा–भारतको बिहारको पटना विश्वविद्यालयबाट एम.ए.गरिसक्नु भएको थियो । पछि उहाँले त्यसै विश्वविद्यालयबाट अँग्रेजीमा पनि एम.ए.गर्नु भयो ।
    स्व.सिंह तीनै साहित्यका विभिन्न विधाका कृतिहरु, समालोचनाका ग्रन्थहरु तथा नयाँ–नयाँ प्रवृत्तिहरुबारे अध्ययन र अनुशीलनमा निरन्तर रुचि लिइरहेको देखियो । पूर्वीय र पाश्चात्य साहित्यालोचनाका सिद्धान्तहरुमा पनि चासो लिइरहनु भयो ।
    प्राध्यापनमा अत्यन्त कुशल स्व.सिंह पाठ्य–क्रम अनुसार विभिन्न पुस्तकको प्राध्यापन गर्दा उहाँका व्याख्या, टिप्पणी र समालोचना वडो घतलाग्दो हुने गर्दथ्ये भन्ने उहाँका विद्यार्थीहरुको मत रहेको छ । मैथिली, स्थानीय भाषा भएपनि प्रामाणिक मैथिली बोल्न र लेख्नमा विद्यार्थीहरुलाई कठिनाई भइरहेको अनुभव गर्नु भएपछि उहाँ प्रामाणिक मैथिली बोल्न र लेख्न सिकाउने तर्फ विशेष ध्यान दिन थाल्नु भयो । वषौंसम्म मैथिलीको प्राध्यापन गर्ने उहाँ एकलै भएकोले आइ.ए. र बी.ए.दुबै स्तरको कार्य–भार एकलै वहन गर्नु प¥यो । कार्य–भार बढी भएपनि बडो कुसलतापूर्वक प्राध्यापन गरिरहनु भयो । उहाँका विद्यार्थीहरुका विभिन्न समूहले उहाँको प्राध्यापनको सधैं मुक्त–कण्ठले प्रशांसा गर्दै रहे । मैथिलीका अतिरिक्त अँग्रेजीको प्राध्यापन गर्न आग्रह भएमा अँग्रेजी पनि बडो मज्जाले माझिएको ढंगबाट पढाउनु भयो ।
    उहाँ वर्षौंसम्म मैथिली विषय समिति र त्यसको स्थायी समितिका सदस्य रही मैथिलीको पाठ्य–क्रम निर्धारण, परिमार्जन र स्तरोन्नतिको प्रयासमा महत्तवपूर्ण योगदान गरिरहनु भयो ।
    पहिले मलाई मैथिली भाषा आउँदैनथ्यो । उहाँबाट नै मैथिली सिक्ने सुअवसर प्राप्त भयो । प्रामाणिक मैथिली लेख्न र बोल्न सिकाउनु भएकोमा म आफूलाई भाग्यशाली ठान्दछु । यसका लागि म जीवन पर्यन्त आभारी रहनेछु । केही महिनासम्म प्रायः प्रत्येक दिन १०–१५ मिनटदेखि आधी धन्टासम्म मैथिलीमा कुरा गरी, कहाँ, के गलती भएको छ सोधेर सुधार गरी, उहाँ सामू बसेर केही–केही लेखेर, हिन्दी र नेपाली पत्र–पत्रिकाबाट एक–दुई परिच्छेद अनुवाद गरी गलती सच्याउन अनुरोध गरेर मैले मैथिली सिकें ।
    उहाँलाई स्मरण गर्दा उहाँको सरल, सहज स्वभाव, उहाँका हास्यकर टिप्पणी, कुरा–कानी गर्दा नेपाली भाषामा अभिनव प्रयोग, हाट–बजारमा तरकारी किन्दा उहाँले बोल्ने नेपाली, स्वादिष्ट परिकारप्रति उहाँको कमजोरी तथा माछा र मासुका विभिन्न परिकार पकाउनमा उहाँको चासोको संम्झना आउनु स्वाभाविक हो । संगै बसेको समय भान्सेले माछा वा मासु पकाउँदा उहाँ भान्सामा गएर हेर्नु हुन्थियो र आवश्यक निर्देशन पनि दिने गर्नु हुन्थ्यो । कलेज÷क्यापसमा कुनै अवसरमा पार्टीको आयोजन हँुदा, पाक–कलामा बढी प्रवीण सहकर्मी श्री उमेश नारायणको अनुपस्थितिमा मासुको के कस्तो परिकार पकाइराखिएको छ  उहाँले नै हेर्नु पथ्र्यौ र उहाँले वडो रुचिले हेर्नु हन्ुथ्यो तथा आवश्यक भए निर्देशन पनि दिनु हुन्थ्यो ।
    नाटकमा अभिनय गर्न पनि रुचाउनु हुन्थ्यो । कलेजमा मंचन हुने नाटकमा गोरो विदेशी पात्र भएर उहाँ बडो माझिएको अभिनेता जस्तै भूमिका निर्वाह गर्नु हुन्थ्यो । विदेशी पात्र देखिने गरी उहाँलाई सिंगारिए पछि आफ्नो गोरो रंग, विदेशी पात्रले बोल्ने शैलीको कुशल राम्रो नक्कलबाट के लाग्थ्यो भने विदेशी पात्र स्वयं मंचमा उत्रिएका छन ।
    खेल–कुदमा पनि उहाँले चासो लिने गर्नु हुन्थ्यो । एक कार्य–कालका लागि उहाँ क्याम्पसको खेल–कुद समितिका सचिव रहनु भयो । शिक्षा मन्त्रालयको शारीरिक शिक्षा शाखाबाट २०२४ सालमा संचालित तालिम पनि उहाँले प्राप्त गर्नु भएको थियो ।
    उहाँ नेपाल प्राध्यापक संधका गतिविधिमा पनि रुचि लिने गर्नु हुन्थ्यो । महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस एकाईको एक कार्य–कालका लागि सभापति पनि रहनु भएको थियो ।
    तीन दशकभन्दा पनि वढीसम्म सहकर्मी रहेका स्व.सिंहको पूरै परिवारसंग मेरो बडो निकटता हुन गएको थियो । उहाँकी एउटी भतिजीको बिहेमा आमन्त्रणमा उहाँको गाउँ पुगेको थिएँ । जन्ती फर्के पछि उहाँका काका र बुवाले मलाई १७ दिन सम्म फर्किन दिनु भएन । दिनहुँ मीठा–मीठा परिकारको आस्वादन गर्ने सुअवसरको सम्झना मलाई अहिले पनि छ । उहाँको निधनको वर्षौ पश्चात् पनि उहाँको पुरै परिवारसंग मेरो नैकट्यमा कुनै फरक परेको छैन ।
    उमेरको हद पुग्नु भन्दा पहिले नै शारीरिक अस्वस्थताका कारणले अवकाश ग्रहण गर्नुभन्दा केही पूर्व उहाँले शोध र लेखनमा रुचि लिन थाल्नु भएको थियो । हालै उहाँको लोक–कथा साहित्यबारेको शोध–कृति प्रकाशित भएको छ ।
    समय–समयमा निश्चय पनि स्व.सिंहलाई उहाँका सहकर्मी र विद्यार्थीहरुले सम्झिरहने छन् र उहाँवारे चर्चा चलिरहने छ ।