पाकिस्तानका प्रमका सय दिन, विकासको थप प्रतिबद्धता 

Friday, November 30, 2018

इस्लामाबाद, १४ मङ्सिर (रासस÷सिन्ह्वा) ।
    पाकिस्तानका प्रधानमन्त्री इमरान खानले देश विकासका लागि लागिपरेको र केही समयमै विकासका अनुभूति दिलाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । बिहीबार आफ्नो सरकारले एक सय दिन पूरा गरेको उपलक्ष्यमा गर्नुभएको सम्बोधनको क्रममा उहाँले नयाँ नीति अख्तियार गरी विदेशी लगानी र अर्थतन्त्रको सुधारजस्ता कार्यलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिज्ञा गर्नुभएको हो । वर्तमान सरकारले १०० दिन पूरा गरेको अवसरमा पाकिस्तानले विशेष कार्यक्रमको आयोजना पनि गरेको छ । उक्त कार्यक्रममा बोल्दै प्रधानमन्त्री खानले यस अवधिमा सरकारले नयाँ नीति र परियोजनाहरू पनि शुरु गरेको बताउनुभयो । 
    गत अगस्ट १८ का दिन आफ्नो कार्यकाल शुरु गर्नेक्रममा प्रधानमन्त्री खानले सरकारको सयदिने कामको एजेन्डा प्रस्तुत गर्नुभएको थियो । सरकारले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सरकारद्वारा लक्षित ३४ ओटा परियोजना यस अवधिमा गर्ने भनेको र त्यसमा १८ ओटा पूरा भएको तथा अरु १६ ओटा परियोजना प्रगतिको क्रममा रहेको बताइएको छ । सरकारले सुशासन दिने, आर्थिक वृद्धिलाई गति दिने, कृषि सिंचाई तथा खानेपानीको अवस्थामा सुधार गर्ने र सामाजिक सुरक्षाका कार्यक्रमहरू ल्याउने जनाइएको छ । यी कार्यक्रमहरूका अतिरिक्त सरकारले गर्ने अरु कार्यक्रमहरूमा विशेषगरी देशको सुरक्षा अवस्थामा सुधार गरी नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउने पनि रहेको छ । सरकारले अघि सारेका यी सबै कार्यक्रमहरूमा प्रगति भएको जानकारी प्रधानमन्त्रीले आफ्नो सम्बोधनका क्रममा दिनुभएको छ ।