फोरम राजपाबीच एकीकरणको प्रयास गरिने, फोमरले बैशाख २८, २९ र ३० गते महाधिवेशन गर्ने

Sunday, December 09, 2018

दैनिक समाचारदाता
काठमाडौं, २३ मंसिर । 
    संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच एकीकरण गर्नका लागि प्रयासका निम्ति दुबै पार्टीले लचकता अपनाएका छन् । केही विद्युतीय संचारमाध्मले फोरम नेपालले सो एकीकरणका लागि वार्ता समिति समेत गठन गरेको दाबी गरेको छ ।
    फोरम अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले आफ्नै अगुवाइमा राजपासंग वार्ता अह्वान गर्दै सो वार्ता कमिटी गठन गरेको जनाइएको छ ।
    शनिबारदेखि राजधानीमा शुरु भएको फोरम केन्द्रीय समितिको बैठकले सो समिति गठन गरेको हो । यसअघि पनि राजपा नेपाल र फोरम नेपालको बीचमा एकीकरणका लागि पहिलादेखि छलफल हुँदै आएको ती संचारमाध्यमहरुले जनाएको छ । 
    राजपा नेपालका अध्यक्षमण्डलका संयोजक राजेन्द्र महतो र सदस्य महन्थ ठाकुर र फोरम नेपालका अध्यक्ष यादवबीच यसअघि पनि कयौंपटक एकीकरणका लागि छलफल भइसकेको नागरिक न्यूजले जनाएको छ ।
    दुई दलको बीचमा एकीकरणका लागि दोस्रो तहका नेताहरुको बीचमा पनि पटक पटक छलफल भइसकेको छ । तर, राजपा नेपालभित्र आन्तरिक विवाद शुरु भएपछि अहिले वार्ता र छलफल हाल स्थगित रहेको छ ।
    यसैबीच संघीय समाजवादी फोरम नेपालको केन्द्रीय समितिको सातौं बैठक सम्पन्न भएको छ । फोरम अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको बैठक आइतबार सम्पन्न भएको हो ।
    सम्पन्न बैठकले आगामी बैशाख २८, २९ र ३० गते महाधिवेशन गर्ने लगायत ४ बुँदे निर्णय गरेको छ ।
    २०७५ साल माघ २८, २९ र ३० गते सम्पन्न गर्ने भनिएको प्रथम राष्ट्रिय एकता महाधिवेशनको लागि तयारी गर्ने समय अपुग भएकोले आगामी २०७६ वैशाख २८, २९ र ३० गते जनकपुरधाममा पार्टीको सो केन्द्रीय राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने निर्णय भएको छ ।
    यस्तै राष्ट्रिय महाधिवेशनअघि प्रदेश र स्थानीय तहको अधिवेशन सम्पन्न गर्न सम्बन्धित प्रदेश, जिल्ला र कमिटिहरुलाई निर्देशन जारी गरिएको छ ।
    बैठकले महाधिवेशन तयारी सन्दर्भमा सदस्यता नवीकरण २०७५ माघ २५ गतेसम्म गरिसक्नु पर्ने, तदर्थ समिति नबनिसकेका ठाउँहरूमा पुस १५ गतेसम्म बनाईसक्नु पर्नेछ, वडा, गाउँ, नगरपालिका, उपमहानगर र महानगरपालिकाहरूको अधिवेशन २०७५ फागुन २५ गतेसम्म सम्पन्नगरिसक्नु पर्ने तथा प्रदेशसभा, प्रतिनिधिसभा र जिल्ला समन्वय समितिरूको गठन २०७५ चैत्र ५ गतेसम्म र प्रदेश अधिवेशन २०७५ चैत्र २० गतेसम्म सम्पन्न गरिसक्ने साथै कृयाशील सदस्यता नवीकरण विवरण २०७५ फागुन १० गतेभित्र पार्टी केन्द्रीय कार्यालयमा बुझाउनुपर्ने नवीकरण वापतको शुल्क पनि बुझाउन बैठकले निर्णय गरेको छ ।
    पार्टीको नीति, कार्यक्रम, वर्तमान राजनीतिक सन्दर्भमा पार्टीको भूमिकालगायतका आवश्यक बिषयहरुमा प्रशिक्षणको आयोजना गर्ने निर्णय पनि भएको छ । उक्त प्रशिक्षण कार्यक्रम प्रदेश समितिकोे आयोजना र व्यवस्थापनमा हुनेछ ।