जनकपुरको ऐतिहासिक पक्ष

Monday, December 17, 2018

रोशन जनकपुरी 
    जनकपुरधाम प्रथम दृष्टिमा एउटा मिथकीय तीर्थस्थलको रूपमा प्रसिद्ध छ । रामायणकी नायिका र हिन्दुभक्तको निम्ति जगद्जननीको रूपमा आराध्य सीता मिथिलाकी राजकुमारी र राजा शीरध्वजकी छोरी थिइन् । मिथिलाका अन्तिम शासक कराल थिए । कराल जनकको पतन सम्भवतः इसापूर्व नवौँं–दशौँं शताब्दीतिर भएको हो । त्यसपछिको करिब एकहजार वर्षसम्म मिथिलाको इतिहास अन्धकारमा देखिन्छ । बौद्ध जातकहरूमा आर्यावर्तको प्रथम बीसवटा जनपदहरूमा मिथिला र विदेहवंशको चर्चा भएपनि त्यो बज्जिमहासंघ भित्रको एक प्रतिष्ठित तर राजध्वज पतन भैसकेको रूपमा चर्चा गरिएको छ । बौद्ध जातक र अन्य पौराणिक ग्रन्थहरूमा कतै विदेहलाई देश र मिथिलालाई राजधानी र नगर समेत , त कतै मिथिलालाई देशको रूपमा समेत चर्चा गरिएको छ । तर अहिले यस बहसभन्दा भिन्न हामी जनकपुरधामको एतिहासिकतामा केन्द्रित हुनु उचित हुनेछ । 
    हुन त जनकपुरधाम् बारे ऐतिहासिक साक्ष्यहरू न्युनतम् एक हजार वर्षसम्मको पाइन्छ । तर आधुनिक जनकपुरधामको शुरूआत सत्रौँं शताब्दीदेखि भएको हो । जतिबेला सुरकिशोर दास जनकपुरधाम् आए र अहिले जानकीमन्दिर भएको ठाउँंमा एउटा नीमको रूखमुनि आफ्नो सधुक्कडी चिम्टा गाडे । त्यतिबेला त्यहाँं जङ्गल थियो । तर एतिहासिक साक्ष्यहरूले जनक र जानकीसंग जोडिएको र घना जङ्गलबीचको यो ठाउँं नजिकका क्षेत्रहरूमा परिचित रहेको थियो र सम्भवतः रामनवमीको सानोतिनो तिर्थालू जमघट समेत शुरू भैसकेको थियो । यसबारे विद्यापतिको भूपरिक्रमा ग्रन्थलाई साक्ष्य महत्पुर्ण छ । यस पुस्तकमा मैथिली भाषाका महाकवि विद्यापतिले विद्वतजनले जनकपुरलाई वैदेहहरूको ‘पुर’ नमानेको भनेका छन् । विद्यापतिको भनाईमा विद्वतजनले यस जनकपुरलाई वैदेहहरूको नगर स्वीकार नगरेपनि लोकजनले यसै जनकपुरलाई राजा जनकको राजधानी र तीर्थ मान्ने गरेको भाव उत्पन्न गराउँंदछ । यसले अरू जे भनेपनि त्यतिबेला (चौधौँं शताब्दीको प्रारम्भ) जनकपुरको अस्तित्व रहेको र यसप्रति जनविश्वास त निश्चितरूप मै प्रमाणित हुन्छ ।
    जनकपुरधामबारे पहिलो ऐतिहासिक अभिलेख इन्द्रविधाता सेनले सन् १७११मा रामचन्द्र मन्दिर (राममन्दिर)लाई कुर्शेीवर्ता जग्गादान गरेको लिखत हो । यो लेखत हाल उपलब्ध छैन, तर यसबारे विभिन्न श्रोतहरूमा उल्लेख भएको पाइन्छ । यसपछिको दोस्रो अभिलेख सन् १७२७मा मकवानपुरका राजा मानिकसेनले रामदासलाई जानकीमन्दिरको महन्थ घोषणा गरेको लेखत हो । रामदास आधुनिक जनकपुरका संस्थापक सुरकिशोर दासका चौथो पुस्ताका शिष्य थिए । यहाँं उल्लेखनीय के छ भने रामदास जानकीमन्दिरका पहिलो महन्थ हुन र उनिभन्दा पहिलेका सुरकिशोरदास, प्रयागदास र जनकवैदेही दासलाई सन्त भनिएको छ । 
    सन्त सुरकिशोर दासले जनकपुरको खोजी गरेको सम्बन्धमा अनेक कथाहरू प्रचलित छन् । जस्मा आफूलाई सीताको पिताको भावमा तन्मय रहेको सुरकिशोर दासलाई सीताले आफ्नो मुर्ति भेटिने ठार्उँ नै आफ्नो माइती अर्थात जनकपुर हुने कुरा सपनामा भनेर जनकपुर जान प्रेरित गरेको कथा बढी लोकप्रिय छ । तर ऐतिहासिक साक्ष्यहरूको आलोकमा के देखिन्छ भने हालको जनकपुरदेखि सितामढीको क्षेत्र मिथिला र जनकपुर वैदेहको नगरी (केही ठाउँंमा जानकी जन्मभूमि भनिएको छ)को रूपमा परिचित तर दुर्गम वन्य क्षेत्र रहेको देखिन्छ । सुरकिशोर दास रसिक सम्प्रदायका साधू थिए, जो सीताको भक्तिमा आध्यात्मिकरूपमा लीन थिए । र यसले नै उनलाई मिथिला क्षेत्र र जनकपुर आउन प्रेरित ग¥यो । उनी जनकपुर आउन प्रेरित गर्ने कारणहरूको खोजी गर्दा रसिक सम्प्रदाय र जनकपुरको सम्बन्धबारे थोरै चर्चा गर्नु सान्दर्भिक नै हुने छ । 
    ऐतिहासिक श्रोतहरूका अनुसार सोह्रौँं–सत्रहौँं शताब्दीमा गंगाको मैदानी क्षेत्रमा राम त्रिदेव (ब्रह्मा, विष्णु र महेश) मध्ये विष्णुको अवतारको रूपमा स्थापित भैसके पछि रामभक्त साधूहरूले रामको जीवनसंग सम्बन्धित स्थलहरूको खोजी गर्ने अभियान थाले । रामले वनगमन गरेको विन्ध्य पर्वत खोजियो, चित्रकूट खोजियो भने अयोध्या रामको जन्मस्थलको रूपमा पहिलेदेखि नै परिचित थियो । रामलाई पूजनीय देवको रूपमा स्थापित गर्ने श्रेय स्वामी रामानन्दलाई छ । उनले रामानुजी परम्परामा लक्ष्मी र विष्णु प्रधान रहेको श्रीसम्प्रदायभन्दा भिन्न आफ्नो छुट्टै सम्प्रदाय चलाए, जस्ले रामलाई आराध्यदेव मान्यो । रामानन्दी सम्प्रदायमा जातिभेद थिएन । भनिन्छ दुनियाँंलाई सुनाउने उद्देश्यले स्वामी रामानन्दले रूखमा चढेर नारा दिए — जात पात पूछे नहि कोई, हरिको भजे सो हरिका होई । संसारबाट विरक्त वैराग्यलाई ग्रहण गरेको स्वामी रामानन्दका प्रथम बाह्रजना शिष्यहरूमा अनन्तानन्द, भावानन्द, सेन, धाना, नाभादास, नरहर्यानन्द, सुखानन्द, कबीर, रैदास, सुरसुरानन्द, सुरसुरी र पद्मावती थिए । यसमध्ये कबीर र रैदासले निर्गुण रामलाई मानेर आ–आफ्नो पन्थ विकास गरे भने अन्य शिष्यहरू साकार रामका अनुयायी थिए । यिनै मध्येको एक नाभादासको एक शिष्य अग्रदास (अग्रअली, अग्रस्वामी)ले सत्रौँं शताब्दीमा मध्यप्रदेशको रैवासा स्थानमा गएर रसिक सम्प्रदायको विकास गरे । कृष्ण परम्परामा राधालाई मूख्य मानेर विभिन्न सम्प्रदाय विकसित भएजस्तै अग्रदासले सीतालाई सर्वौच्च मानेर रसिक सम्प्रदायको मत विकास गरे । यस सम्प्रदायमा सीता प्रति साख्य (सखि)भाव राखेर श्रृङ्गारिक भावमा समेत आराधना गरिन्छ । यिनै अग्रदासको शिष्य परम्परामा एक किल्हस्वामीका प्रपौत्र शिष्य थिए सुरकिशोर दास । सुरकिशोर दास भारतको मध्यप्रदेश प्रान्तको लोहागढ भन्ने गाउँंमा एउटा मन्दिरमा पुजारी थिए । जो त्यतिबेला मुगल शासक औरङ्गजेबको धार्मिक असहिष्णुता र दमनको कारण त्यहाँंबाट पलायन हुन बाध्य भएका थिए । 
    सत्रौँं शताब्दीमै गोस्वामी तुलसीदासको रामचरित मानसले राम र सीताको कथालाई व्यापक विस्तार दियो र सीतालाई छोरी भावमा मानेर आराधना गर्ने रसिक सम्प्रदायका अनुयायी सुरकिशोर दास सीताको माइती मिथिला खोज्दै जनकपुर आएका हुन् । सुरकिशोर दासले जनकपुर खोजी गर्ने प्रेरणा निश्चितरूपमा अयोध्यामा रामभक्तहरूले रामका जीवनसंग सम्बन्धित स्थलको खोजी गर्ने अभियानको अङ्ग थियो, जस्को निम्ति उनि आफ्नो आध्यात्मिक भावबाट प्रेरित भए । यसलाई हामी अयोध्याको तेह्रकोसे परिक्रमा र अयोध्या महात्म्य नामक ग्रन्थसंग जनकपुरमा पन्द्रदिने परिक्रमा र मिथिला महात्म्य ग्रन्थलाई तुलना गर्न सक्दछौँं । 
    बाहिरी दुनियाँंको निम्ति जनकपुरधाम् सत्रौँं शताब्दीसम्म अल्पपरिचित थियो । सुरकिशोर दास र उनका शिष्यहरूले भारतको अयोध्या, मध्यप्रदेश र उत्तरप्रदेशको विभिन्न ठाउँंमा गएर जनकपुरको प्रचार गरे । जनकपुरलाई पहिलोपटक व्यापकरूपमा प्रचारित गर्ने श्रेय अयोध्याबाट प्रकाशित ‘श्री महाराजा चरित्र’ नामक पुस्तकलाई जान्छ । सन् १८०५मा लेखन सम्पन्न भएको यस पुस्तकको रचनाकार अयोध्या बारास्थानका सन्त रघुनाथ दास थिए । यस पुस्तकमा जनकपुरका प्रायः सबै महत्वपूर्ण मन्दिर र पोखरीहरूको उल्लेख छ । यसमा जानकीमन्दिर, रामचन्द्र मन्दिर, जनकमन्दिर, रत्नसागर, गंगासागर, अरगजा, धनुषासर, दशरथ कुण्ड, लक्ष्मण कुण्ड, आदिको चर्चा छ । यस पुस्तकले अरगजा वा अङ्गराग सरको चर्चा महत्वपूर्ण रूपमा गरेको छ, जसअनुसार सीताको बिहामा यस पोखरीमा अङ्गराग अर्थात् उबटन तयार पारिएको थियो । त्यसतै सम्भव छ धनुभङ्गको बेला धनुषको एउटा भाग आकाशतिर स्वर्गमा र अर्को भाग उडेर जनकपुरभन्दा बाह्र माइल उत्तर धनुषाधाममा खसेको कथा फैलाउने श्रेय यसै पुस्तकलाई जान्छ । यस पुस्तकले हालको जानकीमन्दिरलाई जनक दरबार र यस्को अगाडीे ठूलो मैदान भएको र त्यहीँं शिवधनुष राखिएको थियो भनेर भनेको छ । त्यस्तै शिवधनुष प्रदर्शनी स्थलमा ल्याउनुभन्दा अगाडी धनुषसागरमा राखिएको र त्यहीँंबाट प्रदर्शनीस्थलसम्म ल्याइएको भनिएको छ । यस पुस्तकमा धनुषाधाम्मा बाघ, भालू, हात्ती, गैँंडा, अर्ना आदि घुम्ने गरेकोले धनुषाधाम् जाँंदा सावधानीपूर्वक जान सचेत गराइएको छ । त्यस्तै यस पुस्तकले गिरिजास्थान(सीताले फुल टिपेर गिरिजाको पूजा गर्ने ठाउँं, हाल यो भारतको मधुबनीजिल्लामा पर्छ,) र बिसौल (केहीको मतमा विश्वामित्रको आश्रम, जनकपुरको लोकप्रिय पन्द्रदिने परिक्रमाको अन्तमा बिसाउने ठाउँं, हाल भारत मधुबनी जिल्लामा पर्छ)बारे पनि चर्चा गरिएको छ । 
    प्रारम्भमा सेनवंशी शासकहरूबाट पोषित जनकपुरलाई शाहवंशी शासकहरूले आध्यामिक स्थलको सम्मान दिए । पृथ्वीनारायण शाहले सन् १७६२मा मकवानपुर कब्जा गरेपछि तत्कालीन महोत्तरीमा पर्ने जनकपुरपनि शाहवंशी शासनको मातहतमा गयो । शाहवंशी शासक मध्ये रणबहादुर शाहले धनुषाधामलाई कुशेबिर्ता जग्गा दिए र मन्दिर निमार्ण गर्न लगाए । विक्रम सम्वत् १९९१ सालको महाभूकम्पमा जानकीमन्दिर बाहेक जनकपुरधामको प्रायः सबै मन्दिरहरू भत्किएका थिए । पछि तत्कालीन राणाशासकहरूले मन्दिरहरूको निर्माण गराए । यहाँं रोचक जानकारी के हुन सक्दछ भने महाभूकम्पभन्दा पहिले राममन्दिर दुइतले थियो । भूकम्पपछि वर्तमान एकतले मन्दिर निर्माण गरिएको हो । 
    जनकपुरमा लाग्ने मेलाहरू र सन् १९३४मा जनकपुर–जयनगर रेलको विकासले जनकपुरको विकासमा चौतर्फी मद्दत गरेको हो । जनकपुरको ऐतिहासिकता एक हजार वर्षको सहजै खोज्न सकिएपनि कुवारामपुरमा पाइएका चिल्लो कालो पत्थरको विष्णुमूर्ति र महदैयामा पाइएका कुषाणकालीन सिक्काहरूले यस मिथकीय शहरको ऐतिहासिकता अझै धेरैपछि सम्म पुग्नसक्ने सम्भावना छ । तर यसको निम्ति जनकपुरको प्राचीन स्थलहरूको उत्खनन् आवश्यक छ । (मधेश दर्पण फिचर सेवा)