हतियारसहित दुई पक्राउ

Wednesday, December 19, 2018

दैनिक समाचारदाता
धनुषा, ४ पुस । 
    धनुषा र सिरहा प्रहरीले छुट्टाछुट्टै स्थानबाट दुई जनालाई हतियारसहित पक्राउ गरेको छ । 
    धनुषाको हंषपुर नगरपालिका ५ सुगानिकासबाट जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले मदिरा पसलमा मदिरा पिउँदै गरेको अवस्थामा एक जनालाई हतियारसहित पक्राउ गरेको छ । 
    स्थानिय मंगल साह तेलीको मदिरा पसलमा मदिरा पिउँदै गरेको अवस्थामा धनुषाको हंषपुर नगरपालिका ७ बस्ने ३१ वर्षिय बचन भन्ने बेचन मण्डललाई चेकजाँच गर्ने क्रममा एक थान पेस्तोल, सोमा प्रयोग भएको म्याग्जिन एक थान र म्याग्जिनमा लोड भएको ६ राउण्ड गोलीसहित पक्राउ गरेको धनुषा प्रहरीले जनाएको छ । 
    यसैगरि सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका १ लतियाईस्थित मौवाही मिर्जापुर भित्री सडक खण्डमा बिशेष सुराकीको आधारमा प्रहरीले २७ वर्षीय रविन्द्र कुमार मण्डललाई हतियारसहित पक्राउ गरेको छ । 
    प्रहरीले चोरी मुद्दाको फरार प्रतिवादी मण्डललाई पक्राउ गरेपछि चेकजाँच गर्ने क्रममा कम्मरमा बोकेको खाली अवस्थाको कटुवा पेस्तोल एक थान फेला परेको सिरहा प्रहरीले जनाएको छ । 
    दुबैजनलाई मातहतका प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको प्रदेश २ प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।