मधेशको राजनीतिमा नयाँ तरंग आउने ः फोरम अध्यक्ष यादव

Sunday, December 23, 2018

दैनिक समाचारदाता
राजविराज, ८ पुस । 
    संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राजपासँग एकता पहिलो प्राथमिकताले मधेशको राजनीतिमा नयाँ तरंग आउने दाबी गरेका छन् ।
    संचारकर्मीहरुसँगको कुराकानीमा उनले परिवर्तनको खोजीमा आफूले राष्ट्रिय जनता पार्टी (राजपा) सँग पार्टी एकीकरणको प्रस्ताव ल्याएको बताए । 
    हालै सम्पन्न संघीय समाजवादी फोरमको केन्द्रीय समिति बैठकले अध्यक्ष यादवको संयोजकत्वमा राजेन्द्र श्रेष्ठ, रेणु यादव, रामसहाय यादव र रकम चेम्जोङसहित पाँच सदस्यीय वार्ता समिति गठन गरेको छ ।
    स्वास्थ्य मन्त्री एवं उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादवले पहिलो प्राथमिकता राजपासँगकै एकता भएपनि राप्रपा (प्रजातान्त्रिक), नयाँशक्ति र जनमुक्ति पार्टीका केही नेताले यसै हप्ता संघीय समाजवादी फोरममा प्रवेश गर्ने जानकारी दिए ।
    उनले राजपाका संयोजक राजेन्द्र महतो, पुर्वसंयोजक महन्थ ठाकुरसँग पनि कुराकानी भएको बताए । यस्तै, राप्रपा (प्रजातान्त्रिक) बाट दीपक बोहरासँग वार्ता चलिरहेकोले चाडै नै उनी पनि फोरममा प्रवेश गर्ने दाबी गरे ।
    आउँदो वैशाख २९ र ३० गते पार्टीको राष्ट्रिय एकताको महाधिवेशन गर्ने निर्णय भएकोले त्यसअघि नै विभिन्न दलका नेताहरूलाई पार्टीमा प्रवेश गराउने प्रयास शुरु भएको उनले बताए ।