मैत्रीपूर्ण महिला क्रिकेटमा खडक नपा बिजयी

Tuesday, January 08, 2019

दैनिक समाचारदाता
राजविराज, २४ पुस । 
    मैत्रीपुर्ण महिला क्रिकेटमा खडक नगरपालिकाले सुरुङ्गा नगरपालिकालाई पराजित गरेको छ । 
    सप्तरीको बोदेबर्साइन नगरपालिकाको जाजरमा संचालित टि–ट्वाईन्टी क्रिकेट प्रतियोगिता अन्र्तगत भएको खेलमा खड्कले सुरुङ्गालाई ४ बिकेटले पराजित गरेको हो । 
    टस जिती पहिलो ब्याटिंग गरेको सुरुङ्गाले १० ओभरका खेलमा ८ बिकेटको नोक्सानीमा ७२ रनको योगफल तयार पारेको थियो । सुरुङ्गाकी गिता चौधरीले १७ तथा बिपना चौधरीले १२ रन बनाएकी थिइन् । यस्तै बलिंगतर्फ खडककी सुस्मीता चौधरीले ३ तथा पुजा चौधरी र कृति चौधरीले २÷२ बिकेट लिएकी थिइन् । 
    प्रतिउत्तरमा ७३ रनको लक्ष्य प्राप्त गर्न मैदानमा ओर्लेको खडकले अन्तिम ओभरको अन्तिम बलमा भेटाएको थियो । जसमा भोलावत्ति चौधरीले २० बलमा ६ चौक्काको मद्दतले नटआउट ३४ रन र अन्जली चौधरीले १६ रनको योगदान दिएकी थिइन् । बलिंगतर्फ सुरुङ्गाकी मोनिका चौधरी र गिता चौधरीले ३÷३ बिकेट लिएकी थिइन् । 
    यता खडककी भोलावत्ति चौधरीलाई सम्पन्न खेलको म्यान अफ द म्याच स्वरुप नगद तथा पुरस्कार प्रदान गरिएको छ । यस्तै बिजयी खेलाडीलाई सप्तरी क्रिकेट संघका सदस्य अनवर अलीले ट्रफी बितरण गरेका थिए । 
    सेभ द चिल्ड्रेनसँगको साझेदारीमा सबल नेपालले सप्तरी जिल्लाको महिला क्रिकेटलाई उकास्न खडक नगरपालिका तथा सुरुङ्गा नगरपालिकाका किशोरीहरुलाई प्रशिक्षण गराएका थिए । जसमा नेपाली क्रिकेट टोलीका प्रमुख प्रशिक्षक जगत टमाटाले समेत प्रशिक्षण दिएका थिए भने अन्तराष्ट्रिय खेलाडी महवुव आलम र धर्मेन्द्र चौधरीले प्रशिक्षण प्रदान गरिरहेका छन् ।