प्रदेश २ को राजधानी जनकपुरधाम र नाम मधेश वा मध्य मधेश राख्न सुझाव

Friday, January 18, 2019

दैनिक समाचारदाता
जनकपुर, ४ माघ । 
    प्रदेश २ को राजधानी जनकपुरधाम र नाम मधेश वा मध्य मधेश राख्न सुझाव दिएइको छ ।
    प्रदेश २ सरकारले स्थायी राजधानी र नामकरणको विवाद टुंग्याउन नीति आयोगका उपाध्यक्ष डा. हरिवंश झाको नेतृत्वमा गठन गरेको सुझाव संकलन आयोगको कार्यक्रममा प्रदेश २ को राजधानी ‘जनकपुरधाम’ र नाम ’मधेश’ हुनुपर्ने सुझाव दिइएको हो । 
    प्रदेश २ को नामकरण र स्थायी राजधानी तोक्ने विवाद यतिखेर चरमोत्कर्षमा रहेको बेला आयोगले शुक्रबार गरेको सुझाव संकलन कार्यक्रममा अधिकांस वक्ताहरूले विभिन्न आन्दोलनहरूको परिवर्तनलाई संस्थागत गर्न मधेश नाम राख्नुपर्ने सुझाव दिएका छन् । 
    उनीहरूले पहिलो, दोश्रो तथा तेश्रो मधेश आन्दोलनको भावनाविपरीत तथा आन्दोलनका शहीदहरूको मर्म र भावनालाई समेट्नसमेत मधेश नाम राखिनुपर्नेमा जोड समेत दिए । 
    प्रदेशको राजधानी तथा नामका सम्बन्धमा सुझाव तथा संकलन कार्यक्रममा नेकपाका सांसद रामचन्द्र मण्डलले सुझाव संकलन आयोगको नाममा प्रदेश सरकारले फजूल खर्चमा फसेको आरोप लगाए । उनले प्रदेशसभाको दुई तिहाई बहुमतबाट प्रदेशको नामकरण, भाषा तथा राजधानी टुंग्याउनुपर्नेमा नामकरण तथा राजधानीलाई ल्याएर भाषालाई गौण गर्न लागेको आरोप लगाए । 
    यस्तै राष्ट्रिय जनता पार्टी नेपालका प्रमुख सचेतक परमेश्वर साहले मधेश आन्दोलनको भावनाअनुसार प्रदेशको नाम मधेश राखिनुपर्नेमा जोड दिए । उनले मधेश आन्दोलनको नाममा पटकपटक पहिचानको आन्दोलन भएकोले परिवर्तनलाई संस्थागत गर्नसमेत मधेश नाम र राजधानी जनकपुरधाम राखिनुपर्ने बताए । 
    यता जनकपुरधाम उप–महानगरपालिकाकी उपमेयर रिता झा मिश्रले जनताले आफ्नो मत दिएर प्रदेशसभालाई प्रदेशको नामकरण, भाषा र राजधानी टुंग्याउन मत दिएकोले प्रदेशसभामा यो विषयमा छलफल हुनुपर्ने बताउँदै स्पष्ट रूपमा नामकरण बारे केही बोल्न चाहेनन् ।