सरकारले तराई मधेसको विकासका लागि विभिन्न  क्षेत्रमा काम अघि बढाएको छ ः प्रम ओली

Saturday, February 02, 2019

    सिरहा÷प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशका बारेमा विभिन्न हल्ला चलाइएपनि सरकारले तराई मधेसको विकासका लागि विभिन्न क्षेत्रमा काम अघि बढाएको बताएका छन् । 
    शहीद हेमनारायण यादवको १५ औं स्मृतिसभालाई शनिबार सिरहामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
    प्रधानमन्त्री ओलीले हुलाकी सडकको निमार्ण, भैरवहा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण, तराई मधेस समृद्धि कार्यक्रम सबै तराईकै विकासका लागि सञ्चालन भएको बताए । केही दिनअघि झापा विमानस्थलमा रात्रीकालिन उडान सेवा सुरु भएको उल्लेख गर्दै उनले जनकपुरमा केही महिनामा यस्तो सेवा सुरु हने बताए ।


    मधेसलाई काठमाडौंसँग जोड्ने द्रुत मार्ग, निजगढ विमानस्थल, कमला मरिन डाइभर्सनबाट तराईलाई सिचाईं गर्ने योजनाका कामहरु धमाधम भइरहेको उनले बताए । यसैगरी तराईका जिल्लाका सदरमुकाम जोड्ने सडकहरुको स्तर वृद्धिका लागि आफू अघिल्लो पटक प्रधानमन्त्री भएका बेला सुरुवात गरिएको र अहिले काम धमाधम भइरहेको प्रधानमन्त्री ओलीले अवगत गराए । 
    तराईको भौतिक विकास मात्र होइन सामाजिक विकासका लागि पनि आफू क्रियाशिल रहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।
    प्रधानमन्त्री ओलीले वृद्धवृद्धाका हितका लागि सरकार सकारात्मक रहेको बताए । अघिल्लो सरकारले देशको ढुकुटी रित्तो पारेकोले अघिल्लो आर्थिक बर्षमा वृद्धभत्ता बढाउन नसकेको प्रधानमन्त्रीको भनाई छ । 
    २०६० साल माघ १९ गते तत्कालिन नेकपा (एमाले) सिराहा जिल्लाका अध्यक्ष एवं साँसद हेमनारयण यादवको धनुषा र सिराहाको सिमाना पर्ने कमला खोलामा रहस्यमय हत्या भएको थियो । 
    सोही कार्यक्रममा प्रधानमन्त्री ओलीले नेकपा प्रदेश २ का सदस्य अरुण कुमार साह अनिललाई दोसल्ला तथा माला लगाएर अभिनन्दन गर्दै सम्मान समेत गरे ।