तीन महिनाको अवधिमा विभिन्न प्रजातिका अबैध काठ बरामद

Tuesday, February 26, 2019

दैनिक समाचारदाता
जनकपुर, १४ फागुन ।
    प्रदेश प्रहरी कार्यालय प्रदेश नं. २ जनकपुरधाम मातहतका बिभिन्न प्रहरी कार्यालयहरुबाट खटिएको छुट्टाछुट्टै प्रहरी टोलीले तीन महिनाको अवधिमा बिभिन्न प्रजातिका अबैध काठ बरामद गरेको  छ ।
    प्रदेश मातहतका बिभिन्न स्थानमा अवैधरुपमा काठको ओसारपसार तथा तस्करी भइरहेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीको विशेष सक्रियतामा सप्तरी, सर्लाही, सिरहा, महोत्तरी र बारा जिल्लाका विभिन्न स्थानहरुबाट काठ फेला पारी बरामद गरेको हो । 
    बरामद भएका मध्येमा सप्तरी डाकनेश्वरी नगरपालिका ३ बाट स.१ त २०५९ नम्बरको ट्याक्टरबाट करिब ५० हजार रुपैयाँ बराबरको सखुवाको काठ १ सय ५० थान रहेको छ । 
    प्रहरीको सक्रियतामा सर्लाही लालबन्दी नगरपालिका(११ सेतीभिरस्थित खोलाको बगरबाट करिब ७ लाख रुपैयाँ मूल्य बराबरको सालको काठ र सर्लाहीकै बरहथवा नगरपालिका ७ मा २  वटा ट्याक्टरबाट करिब २ लाख रुपैयाँ मूल्य बराबरको सपेताको काठ ७० थान बरामद भएको हो । 
    यसैगरी सिरहा लहान नगरपालिका १८ सोभापुरस्थित स्माईल मियाको गोठमा लुकाई छिपाई राखेको साल, मुरकुट, अस्मा, सतिसाल, सिसौ गरी ३० क्यूफिट अवैध काठ बरामद भएको हो । सिरहाकै गोलबजार नगरपालिका ६ गोलबजार नजिक ४ वटा साईकलमा ल्याएको सालको काठ १० गोलिया साईकल सहित बरामद भएको छ ।
    यस्तै महोत्तरी बर्दिबास नगरपालिका ३ पाटुबाट करिब ४० हजार रुपैयाँ मूल्य बराबरको १८ थान सखुवाको काठ समेत रहेको छ । 
    यसैगरी बारा आदर्शकोतवाल गाउँपालिका ५ बाट ना.५ त ८९६५ नम्बरको ट्यक्टरमा रहेको ७१ क्यूफिट सिमलको  काठ बरामद भएको छ । बाराकै निजगढ नगरपालिका(६ वाईवा टोलस्थित सार्वजनिक स्थलमा चोरी पैठारी गरी लुकाई छिपाई राखेको खयरको ४ वटा गोलिया काठ समेत बरामद भएको छ । 
    यता ब्यबसायिक प्रयोजनको लागि सानो सानो परिमाणमा तस्करी गरिएको उक्त काठहरू स्थानीय फर्निचरमा लगेर ठुलो परिमाणमा फर्निचरहरु बनाउने र बजारमा विक्री वितरण गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ ।  
    काठ तस्करी हुने संभावित ठाउँहरुमा विशेष निगरानी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।