लोकतान्त्रिक प्रक्रियाबाट आएको सरकार  अलोकतान्त्रिक गतिविधिमा ः जोशी

Friday, March 15, 2019

दैनिक समाचारदाता
राजविराज, १ चैत । 
    नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री नविन्द्रराज जोशीले लोकतान्त्रिक प्रक्रियाबाट आएको केपी ओली नेतृत्वको सरकार अलोकतान्त्रिक गतिविधिमा लागेको आरोप लगाएका छन् ।
    शुक्रवार नेपाली काँग्रेस सप्तरीको कार्यालयमा आयोजित स्थानीय नेता तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सो आरोप लगाएका हुन । 
    सरकारको एकपछि अर्को निर्णय अलोकतान्त्रिक प्रक्रियाबाट आउन थालेको छ उनले भने, “स्वतन्त्र मधेशको नारा दिने डा. सिके राउतसँग सरकारले गरेको सम्झौता, वाइडबडी जहाज खरिद काण्डमा प्रधानमन्त्री ओलीको आएको अभिव्यक्ति, चिकित्सा विधेयक जबरजस्ती पारित, प्रतिनिधि सभामा संसदीय प्रणाली र परम्परा विपरीतको बल प्रयोग, विभिन्न आयोगको गठन लगायतका काममा सरकारले अलोकतान्त्रिक प्रक्रिया र आचरण देखाएको छ । काँग्रेसले यसको कडा प्रतिवाद गर्छ ।”
    प्रमुख प्रतिपक्ष दलका नेताको अनुपस्थितिमा संवैधानिक परिषद बैठक राखेर विभिन्न आयोगका प्रमुखहरुको नियुक्ति गरिएको छ उनले थपे, “यति मात्र होइन, महँगी र भ्रष्टाचारले चरम सीमा नाघेको छ ।” 
    उनले चुनावमा पार्टी पराजय हुनुको कारण आपसी तिक्तता र गुट उपगुट नै भएको जिकिर गर्दै पार्टी एक जुट हुनुपर्नेमा जोड दिए ।
    जिल्ला सभापति दिनेश कुमार यादवको अध्यक्षतामा आयोजित भेलामा सहभागि स्थानीय नेता तथा कार्यकर्ताले सरकारको क्रियाकलाप संवैधानिक निकाय, लोकतान्त्रिक व्यवस्था र प्रतिपक्षको भूमिकालाई कमजोर बनाउने तर्फ अग्रसर रहेको भन्दै पार्टी भित्र बृहत एकता र अनुशासन कायम गरी प्रतिवादमा उत्रिनु पर्ने सुझाव दिएका थिए ।