सामुहिक बलात्कार काण्डका दोषिलाई १३ वर्ष कैद 

Friday, March 15, 2019

दैनिक समाचारदाता
राजविराज, १ चैत । 
    चार वर्ष अघि भएको सामुहिक बलात्कार काण्डको अभियोगमा पक्राउ परेका तीन जना युवालाई जिल्ला अदालतले १३ वर्ष कैद सजाय दिएको छ । 
    न्यायाधिश उमेश कोइरालाको एकल इजलासले राजविराज नगरपालिका ४ का २३ वर्षिय शम्भु साह, राजविराज ८ का २८ वर्षिय नविन दत्त र राजविराज ९ का २० वर्षिय फुदिन खानलाई सो कैद सजाय दिइएको हो । 
    २०७१ साल चैत १३ गते एसएलसी परीक्षा दिएर घर फर्कदै गरेकी राजविराजकै एक १६ वर्षिया सहपाठीलाई उनीहरुले सामुहिक बलात्कार गरेका थिए । 
    उनीहरुलाई बलात्कारको कसुरमा ८ र सामुहिक बलात्कारको कसुरमा थप ५ वर्ष गरी १३ वर्ष कैद सजाय फैसला गरिएको जिल्ला अदालतका श्रेस्तेदार दिलकुमार वर्देवाले जानकारी दिएका छन् । 
    पीडित पक्षको उजुरीको आधारमा सोही दिन बलात्कृत किशोरीको स्वास्थ्य परिक्षण र उपचार सुरु गराई प्रहरीले आरोपितहरुलाई पक्राउ गरी मुद्दा चलाएको थियो ।
    बलात्कारका आरोपीलाई कडा कारवाहीको माग गर्दै आफन्त र विभिन्न संघ–संस्थाले त्यतिबेला दिनहुँ प्रदर्शन गर्दै आएका थिए । अदालतको फैसलाबाट परिवारजन तथा त्यतिबेला आन्दोलनरत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले खुशी व्यक्त गरेका छन् ।