सरकारबाट तत्काल बाहिरिने सम्भावना छैन् ः उपप्रम यादव

Sunday, March 17, 2019

दैनिक समाचारदाता
बिराटनगर, ३ चैत । 
    उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सरकारबाट तत्काल बाहिरिने सम्भावना नरहेको बताएका छन् । 
    विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीले वर्तमान सरकार छाड्ने सम्बन्धमा कुनै सोच नबनाएकाले आफ्नो पार्टी सरकारमै बसेर काम गर्नेछ भने ।
    सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री यादवले राष्ट्रिय जनता पार्टी नेपाल सङ्घीय सरकारमा नरहेकाले समर्थन फिर्ता लिनुको कुनै अर्थ नरहेको समेत बताए ।
    उनले तराईका जनताको चाहनाअनुसार नै राजपासँग मिलेर प्रदेश नं २ मा सरकार गठन गरेको बताउँदै शक्ति निर्माण गर्नका लागि आफ्नो पार्टीले राजपालाई पत्र लेखी पठाएकामा जवाफ नआएकाले त्यसलाई सकारात्मक रुपमा लिएको प्रष्ट पारे । 
    उपप्रधानमन्त्री यादवले राज्यले विप्लव समूहको गतिविधिमाथि रोक लगाउनु आफ्नो कर्तव्य निभाएको हो, त्यो जुनसुकै सरकारले पनि गर्ने गर्छ भन्दै राजनीतिक गतिविधिको नाममा मान्छेको हत्या, लुटपाट र आङ्तक सिर्जना गरी जनतामा त्रासको वातावरण फैलाउन पाइँदैन भने ।
    उपप्रधानमन्त्री यादवले सिके राउतसँग भएको सम्झौतामा कहीँ पनि जनमत सङ्ग्रह उल्लेख नभएको प्रष्ट पार्दै जनमत सङ्ग्रह र जनअभिमत फरक विषय रहेको जिकिर गरे । उनले सिके राउतसँग भएको ११ बुँंदे सम्झौतामा मुलुकको सार्वभौमसत्ता र अखण्डता स्वीकार गराउनु सकारात्मक पहल हो भने ।