हावाहुरी प्रभावित परिवारलाई प्रदेश २ सरकारले घर बनाइदिने

Wednesday, April 03, 2019

दैनिक समाचारदाता
जनकपुर, २० चैत । 
    वारा र पर्सामा गएको हुरी प्रभावितहरुलाई प्रदेश २ सरकारले शौचालयसहित चारकोठे घर बनाइदिने भएको छ । जसमा शौचालयसहित भन्सा र ३ वटा कोठा गरी चार कोठा हुनेछ ।
    बुधबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले हुरीका कारण पूर्ण रुपमा क्षतिग्रस्त घरहरु आगामी चार महिनाभित्रै सरकार बनाइदिने बताएका हुन् । 
    त्रिपालमुनी रहेका पीडितहरुलाई गर्मीका कारण समस्या भइरहेको भन्दै उनले केहि दिनभित्रै टेन्टभित्र सारिने बताए । उद्दार सकिए लगतै राहत वितरण प्रभावकारी भएको भन्दै उनले सहयोग गर्नेहरुलाई धन्यवाद समेत दिए ।
    प्रदेशका आन्तरिक मामिलामन्त्रीले प्रदेशसभालाई दिएको जानकारीअनुसार हुरीका कारण बारामा २७ र र पर्सामा एक जनाको मृत्यु भएको छ । करिव एक हजार घाइते भएका छन् ।
    उनका अनुसार बारामा ९ सय ५८ परिवारको घर पूर्णरुपले र ९ सय २२ को आंशिक रुपले क्षतिग्रस्त भएको छ । यस्तै पर्सामा १ सय २२ घर पूर्ण रुपले र ३ सय ८७ घर आंशिक रुपले क्षतिग्रस्त भएको प्रारम्भिक तथ्यांक आएको उनले बताए ।
    प्रदेशसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री यादवले बर्षा अगाबै सबैको घर बनिसक्ने बताए । संघीय सरकारसँग समन्वय गरेर घर बनाउन थाल्ने उनले बताए ।
    प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री यादवले हुरीका कारण प्रभावित क्षेत्रमा बत्तिको समस्या भएको सुनाए । तीन दिनभित्र बत्ति बाल्ने काम सम्पन्न गर्ने गरी काम भइरहेको बताए । प्रभावित वस्तीमा खानेपानीको अभाव हुन नदिन प्रभावित वस्तीमा ट्युववेलको व्यवस्था गरिएको सुनाए ।
    प्रदेश २ का सांसदहरुले बारा र पर्साका हाबाहुरी पीडितका निम्ति आफ्नो तलव दिने घोषणा गरेका छन् । प्रदेशका २ जना सांसद अशोक यादव र फूल बाबुले एक महिनाको तलव दिने घोषणा गरेको प्रदेश २ का सभामुख सरोज यादवले जानकारी दिए । यस्तै १ सय ५ जना सांसदले एक हप्ताको तलव दिने घोषणा गरेको सभामुख यादवले बताए ।
    बुधबारको प्रदेशसभा बैठकले हाबाहुरीका कारण ज्यान गुमाउनेहरुप्रति श्रद्वाञ्जली व्यक्त गर्दै शोकसभा पारित गरेको छ । शोक प्रस्ताव पारित भएसँगै प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको सभामुख यादवले घोषणा गरेका थिए ।