हावाहुरी पीडितका लागि प्रदेश १ र ५ सरकारद्वारा एक करोड सहयोग,  कामनपाद्वारा एक दिनको तलब २५ लाख सहयोग 

Saturday, April 06, 2019

दैनिक समाचारदाता
राजविराज, २२ चैत ।
    बारा र पर्साका हावाहुरी पीडितका लागि प्रदेश १ को सरकारले एक करोड आर्थिक सहयोग गर्ने भएको छ ।
    प्रदेश १ मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सो राहत दिने निर्णय गरेको हो । सो बैठकले बारा र पर्सामा भएको हावाहुरीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गरी घाइतेको शीघ्र स्वास्थ्यको कामना पनि गरेको छ ।
    यसैगरि बारा र पर्साका हावाहुरी प्रभावितहरुका लागि प्रदेश नम्बर ५ सरकारले पनि १ करोड राहत सहयोग पठाउने निर्णय गरेको छ ।
    प्रदेश सरकारको मन्त्री परिषदको शुक्रबार बसेको बैठकले प्रदेश नम्बर २ सरकारको आकस्मिक राहत कोष खातामा प्रदेश ५ सरकारको तर्फबाट राहत सहयोग पठाउने निर्णय गरेको हो ।
    यता काठमाडौँ महानगरपालिकाले बारा र पर्सामा हावाहुरीबाट प्रभावितका लागि २५ लाख सहयोग गर्ने भएको छ । 
    बिहीबारको ३१ औँ कार्यपालिका बैठकले हावाहुरीबाट प्रभावितलाई उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो । कामपाले प्रदान गर्ने उक्त रकम जनप्रतिनिधि र कर्मचारीकोको एक दिनको पारिश्रमिकबाट सङ्कलन हुने रकम हो ।