हावाहुरीबाट प्रभावितहरुको पुर्नवासका लागि सहयोगी हात बढ्दै

Saturday, April 06, 2019

    राजविराज÷गत आइतबार मुलुकककै इतिहासमै ठूलो विपत हावाहुरी आएपछि बारा र पर्सा जिल्लामा ठूलो धनजनको क्षति भएको छ । सो हावाहुरीबाट ३० जनाको ज्यान गएको छ भने ६ सय बढी घाइते भएका छन् । 
    बारा र पर्साको सिमानामामा रहेको चैनपुर गाँउपालिकाबाट सुरु भएको चक्रवात हावाहुरीले बारास्थित कलैया नगरपालिका, सुवर्ण गाँउपालिका, फेँटा गाँउपालिका महा गढीमाई गाँउपालिकाको विभिन्न वडाहरुमा ठूलो वितण्डा मच्चाएको थियो ।
    हावाहुरीबाट प्रभावित व्यक्तिहरुको पुर्नवासका लागि विभिन्न राजनीतिक दल, प्रदेश सरकार तथा संघसंस्थाहरुले सहयोग गर्ने घोषणा समेत गरेको छ ।  
    सो विपतमा ज्यान गुमाएकाहरुलाई प्रदेश २ सरकारले प्रति व्यक्ति ३ लाख दिने निर्णय गरेको छ । त्यस्तै प्राकृतिक विपत्तिमा परेर घाइते भएकाको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने र घरबार गुमेकाको वासस्थानका लागि प्रदेश सरकारले पहल गर्ने निर्णय समेत गरेको छ । त्यस्तै संघीय सरकारले ४ सय ६८ वटा त्रिपाल प्रदान गरेको छ । 
    नेपाल उद्योग वाणिज्य महासंघले बारा र पर्साका हावाहुरी पीडितका लागि ५० लाख सहयोग गर्ने घोषणा गरेको छ ।
    यसैगरि राष्ट्रिय जनता पार्टी नेपालले बारा र पर्सामा आँधी र हावाहुरी पीडितका लागि ५ लाख रुपैयाँ सहयोगको घोषणा गरेको छ ।
    राजपाले संकटका बेला राहत र उद्दारमा लाग्न कार्यकर्तालाई आग्रह गरेको छ । नेता कार्यकर्ताहरुले राहत सहयोग संकलन गरी पीडित परिवारलाई सहयोग गर्न पनि आग्रह गरेको छ ।
    प्राकृतिक विपत्तिको घडीमा प्रदेश २ सरकारले देखाएको तत्परताको प्रशंसा गर्दै उनले संघीय सरकारलाई समेत राहत र उद्दार कार्यमा यथाशीघ्र लाग्न आग्रह गरेको छ ।
    त्यसैगरि बारा र पर्सा लगायत तराईका विभिन्न स्थानहरुमा आएको भीषण हावाहुरीबाट प्रभावितहरुका लागि नेपाली काँग्रेसका सांसदहरुले राहत स्वरुप दुई दिनको तलब बराबरको रकम सहयोग गर्ने भएका छन् । त्यस्तै नेपाली काँग्रेस प्रदेश २ ले हावाहुरी पीडितलाई १० लाख दिने घोषणा गरेको छ । 
    यसैबीच प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा हावाहुरी प्रभावित फेटा गाउँपालिका पुगेका छन् । उनले हुरीहुरी प्रभावितहरुलाई भेटेका छन् र कांग्रेसको तर्फबाट २५ लाख सहयोग गर्ने घोषणा गरे ।
    यता नेकपाका सांसदहरुले एक दिनको पारिश्रमिक तलब सहयोग गर्ने घोषणा गरेको छ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बारा र पर्सामा हावाहारीका कारण मृत्यु भएकाको परिवारलाई प्रति परिवार ५ लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।
    हावाहुरी प्रभावितहरुलाई प्रदेश ३ र सुदूरपश्चिम प्रदेश सरकारले आवास निर्माणका लागि छुट्टाछुट्टै एक÷एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
    यस्तै प्रदेश सभा ३ ले बारा र पर्साका हावाहुरी प्रभावितलाई ३ दिन बराबरको तलव सहयोग गर्ने निर्णय गरेको छ । 
    कार्यव्यवस्था परामर्श समितिको बैठकले आफ्ना १ सय ९ सदस्यबाट ३ दिनको तलव सहयोग गर्ने निर्णय गरेको कांग्रेस सचेतक छिरिङ्ग दोर्जे लामाले जानकारी दिए ।
    यस्तै सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश २ को बारा र पर्साका आँधीहुरी प्रभावितहरुका लागि एक करोड सहयोग गर्ने घोषणा गरेको छ ।
    बारा र पर्साका हावाहुरी पीडितका लागि प्रदेश १ को सरकारले एक करोड आर्थिक सहयोग गर्ने भएको छ । प्रदेश १ मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सो राहत दिने निर्णय गरेको हो ।
    यसैगरि बारा र पर्साका हावाहुरी प्रभावितहरुका लागि प्रदेश नम्बर ५ सरकारले पनि १ करोड राहत सहयोग पठाउने निर्णय गरेको छ ।
    प्रदेश सरकारको मन्त्री परिषदको शुक्रबार बसेको बैठकले प्रदेश नम्बर २ सरकारको आकस्मिक राहत कोष खातामा प्रदेश ५ सरकारको तर्फबाट राहत सहयोग पठाउने निर्णय गरेको हो ।
    यता काठमाडौँ महानगरपालिकाले बारा र पर्सामा हावाहुरीबाट प्रभावितका लागि २५ लाख सहयोग गर्ने भएको छ ।