बैशाख १ मा मात्र फुल्ने फुल हेर्न घँुइचो

Sunday, April 14, 2019

दैनिक समाचारदाता
राजविराज, १ बैशाख । 
    प्रदेश २ को सिरहा जिल्ला लहान नगरपालिकास्थित ऐतिहासिक स्थल सलहेश फूलबारीमा आइतबार ठूलो मेला लागेको छ । प्रत्येक वैशाख १ गते मात्र फुल्ने उक्त फूल सलहेशको दर्शन गर्न ठूलो घुँइचो लाग्ने गर्दछ ।
    लहान बजारदेखि ५ किमी पूर्वपश्चिम राजमार्गमा पर्ने सलहेश फूलबारीमा एक दिन मात्र फुल्ने राजा सलहेशको ऐतिहासिक गाथा बोकेको सलहेश हेर्न नेपाल तथा भारतबाट समेत हजारौँ दर्शनार्थी बिहानैदेखि आएका छन् । 
    राजा सलहेश र उनकी पे्रमिका मालिनीको पे्रम प्रतीकका रुपमा लहानदेखि ४ किमी पश्चिममा रहेको करीब १० बिघाको प्राचीन फूलबारीका दुई रुखको मध्यभागमा प्रत्येक नयाँ वर्षको पहिलो दिन वैशाख १ गते एक जोडी माला देखिने गरिन्छ ।
    ती माला हेर्न र मेला भर्न सिरहा, सप्तरी, उदयपुर, सिन्धुली, धनुषा, महोत्तरी, सर्लाही तथा भारतका निकटवर्ती गाउँबाट सर्वसाधारणको घुइँचो लाग्छ । सलहेश र मालिनीबीच प्रगाढ पे्रम सम्बन्ध रहेको र पे्रम सफल नहुँदा मालिनीले सलहेशको प्रतीक्षा गर्दै हरेक वैशाख १ गते फूलको माला लिएर देखापर्ने जनविश्वास रहिआएको छ ।
    हरेक वर्ष चैत मसान्त र वैशाख संक्रान्तिका बेला दुई दिन मात्र फुलेर मालाको आकार ग्रहण गर्ने सलहेशको सुगन्ध लिन निकै मानिस भेला हुन्छन् । फूलबारीको मध्यभास्थित मालिनी मन्दिर दक्षिण टाँस्सिएको हारमको रुखको मध्यभागमा फुल्ने माला आकारको फूललाई सलहेशको गाथासँग जोडिन्छ । साँझपख यो फूल ओइलाएर जान्छ । यो ठूलो मेला पौराणिककालदेखि लाग्दै आइरहेको छ ।
    सलहेश तराईका पासवान जातिको इष्टदेव मानिन्छन् । तेह्रौँ शताब्दीका लोकनायक सलहेशको पूजार्चना गर्नाले मनोकांक्षा पुग्ने, सन्तानप्राप्ति हुने  तथा चर्मरोग, कुष्ठ रोगलगायत रोगव्याधि हरण हुने जनविश्वास छ । मन्दिरका पुजारी वीरदेव धामीका अनुसार हरेक नयाँ वर्षको दिन फुल्ने यो फूललाई राजा जयवद्र्धन सलहेश र दौना मालिनीको पे्रम प्रतीकका रुपमा लिइन्छ ।  
    फूलबारीमा चारैतिर मूल फुटेर पानी बगिरहेको हुन्छ । फूलबारीमा प्रवेश गरेपछि शान्ति र पे्रमको भाव आफैँ उत्पन्न हुने गरेकाले त्यस भेगका मानिसलाई मात्रै होइन, भाकल गर्ने जोसुकैको मनोकामना पूरा हुने गरेकाले भक्तजन आउने गरेका छन् ।