सप्तरी प्रिमियर लिग सिजन–२ असारमा हुने  

Monday, June 10, 2019

दैनिक समाचारदाता
राजविराज, २७ जेठ ।
    असार २ गतेबाट राजविराज हुने मेयर कप सप्तरी प्रिमियर लिगको दोश्रो सिजनमा पुरुष र महिला दुवै समावेश गरिने भएको छ । 
    राजबिराज नगरपालिकाको सहयोग तथा सप्तरी क्रिकेट संघको आयोजनामा संचालन हुने प्रतियोगिताको लागि यस बर्ष ५ टोलिको सहभागिता हुने सप्तरी क्रिकेट संघले जनाएको छ । 
    राजबिराजस्थित प.बि.मा.बि.को खेल मैदानमा संचालन हुने प्रतियोगिता लिगको आधारमा खेलाईने छ । प्रतियोगिताका लागि अगामी जेठ ३१ गते खेलाडीहरुको अक्सन हुने तथा प्रतियोगिता भब्यतापुर्वक सम्पन्न गराउन संघका सदस्य रोशन मण्डललाई प्रतियोगिता डाईरेक्टर समेत चयन गरिएको छ । 
    यस्तै प्रतियोगिताका लागि डम्वरनारायण दास (शम्भु), राहुल सिंह, रवी राय र संजय सिंह कार्की रहने गरि उपसमिति समेत गठन गरिएको सप्तरी क्रिकेट संघका सचिव चन्दन कुमार यादवले जानकारी दिएका छन् ।
    त्यसै गरि संघले दिएको जानकारी अनुसार यस पटक पहिलो महिला सप्तरी प्रिमियर लिगको आयोजना असार ९ गतेबाट हुने तथा सोका लागि समेत अक्सन असार ५ गते हुनेछ । 
    महिला क्रिकेटको लागि सुरुंगा नगरपालिका र खडक नगरपालिकाले प्रायोजन गरेको छ भने सबल नेपालको मुख्य आयोजनामा सप्तरी क्रिकेट संघसंगको सहकार्यमा संचालन हुने सचिव यादवले जानकारी दिए ।
    प्रतियोगितामा यस पटक पुरुष तर्फको बिजेताले २ लाख नगदसहित ट्रफि तथा उपबिजेताले १ लाख पाउने जनाइएको छ भने महिलातर्फको बिजेताले ५१ हजार तथा उपबिजेताले ३१ हजार प्राप्त गर्ने छन् ।
    गत बर्षबाट संचालन गरिएको मेयर कप सप्तरी प्रिमयर लिगको पहिलो उपाधि बजाज खडक वारियर्सले १ लाख ५० हजार सहित हात पारेका थिए ।