मिडिया विधेयक पत्रकारहरुलई अंकुश लगाउने प्रयास स्वरुप ल्याइएको छ ः मुख्यमन्त्री राउत

Sunday, June 16, 2019

    जनकपुरधाम÷प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारले हालै ल्याएको मिडिया विधेयक पत्रकारहरुलई अंकुश लगाउने प्रयास स्वरुप ल्याइएको आरोप लगाएका छन् । 
    नेपाल पत्रकार महासंघ प्रदेश २ को प्रथम साधारणसभालाई शुक्रबार जनकपुरधाममा सम्बोधन गर्दै मुख्य मन्त्री राउतले मिडिया विधेयकले संघीयता अझ कमजोर बन्ने अवस्था आउने जिकिर समेत गरे । 
    उनले संघीय सरकारले पत्रकारहरुलाई असुरक्षित महसुस गराउनु दुःखद भएको बताउँदै यो पनि संघीयतालाई समाप्त गर्ने कदम भएको उल्लेख गरे ।
    उनले सरकारबाटै पत्रकारहरुले असुरक्षित महसुस गर्नु कुनै पनि हालतमा ठीक हुन नसक्ने बताए । मिडिया क्षेत्रलाई नियन्त्रणमा लिए संघीयता समाप्त पार्न सजिलो हुने मुख्यमन्त्रीको भनाई छ । यस्तै मुख्य मन्त्री राउतले पत्रकारहरु पूर्वाग्रह र कसैको मुख नहेरी समाचार लेख्न आग्रह समेत गरे । 
    प्रदेश सरकारले ल्याएको मिडिया विधेयकमा पत्रकारलाई रु एक करोडसम्म जरिवाना गर्ने उल्लेख गरिनु कर्मचारीको बदमासी भएको भन्दै उनले प्रदेश सरकार जहिल्यै पनि मिडियामैत्री बन्ने बताए । उनले प्रदेश सरकारले बनाउने नियम र कानुनहरु पत्रकारमैत्री हुने बताउँदै उनले आफूहरुले पत्रकारको भूमिकालाई नबिर्सेको र नबिर्सिने बताए ।
    त्यस्तै कार्यक्रममा बोल्दै प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले प्रदेशमा पत्रकारको स्वतन्त्रता कुनै पनि हालतमा हनन हुन नदिने प्रतिबद्वता जनाए । 
    उनले आफूहरुले ल्याएको संचार विधेयकमा पत्रकारहरुलाई जरिवाना लगाउने कुरा इरर भएको बताउँदै आफूले भोलिपल्ट नै त्यसलाई विज्ञप्ती मार्फत् सच्चयाउने बताइसकेको स्मरण गराउँदै आफूहरु पत्रकारमैत्री प्रदेश बनाउन लागेको बताए ।
    प्रदेशभित्रका मिडिया हाउसको स्तरन्नोतिका लागि आफूहरुले काम गरिरहेको बताउँदै उनले पत्रकारहरुको विमा सम्बन्धी कामलाई पनि अघि बढाइने बताए ।
    सोही कार्यक्रममा भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलले संघीय सरकारको सम्बन्ध जनतासँग विच्छेद भइसककेो बताउँदै अब जनता नै सरकारबिरुद्व उत्रेको बताए ।
      कार्यक्रममा प्रदेश २ का नेकपाका संसदीय दलका नेता सत्यनारायण मण्डल, राष्ट्रिय सूचना आयोगका आयुक्त किरण पोखरेल, वरिष्ठ पत्रकार हरिहर बिरही, नेपाल पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष राजेश मिश्र, केन्द्रीय सदस्यद्वय अवधेश झा र सुरेश यादव, नेपाल पत्रकार महासंघका प्रदेश सल्लाहकार बिरेन्द्र रमण, संघीय प्रेस फोरमका प्रदेश अध्यक्ष श्यामसुन्दर यादव सहितकाले बोलेका थिए ।