सेनाले सप्तरीका १ सय ८० स्कुले विद्यार्थीलाई सक्षम नागरिक बनाउन कुशलता सिकाउँदै 

Thursday, June 20, 2019

दैनिक समाचारदाता
राजविराज, ४ असार ।
    राजविराजस्थित नेपाली सेनाको भिमदल गणले सप्तरीका पाँच वटा विद्यालयका १ सय ८० जना विद्यार्थीहरुलाई सुरक्षा निकायमा आकर्षण बढाउन तथा अनुशासित र कलाकौशलले निपुण बनाउन राष्ट्रिय सेवा दल (ल्ऋऋ) को तालिम सूरु गरेको छ । 
    बुधवारदेखी एक कार्यक्रमको आयोजना गरी सुरु गरिएको तालिममा जिल्लाको शम्भुनाथ नगरपालिका, खडक नगरपालिका, कंचनरुप नगरपालिका, रुपनी गाउँपालिका र तिलाठी कोइलाडी गाउँपालिकास्थित विद्यालयबाट छनौट भएका १८ जना छात्र र १८ जना छात्रा गरी १ सय ८० जना विद्यार्थी सहभागी भएका छन् । 
    ७९ दिन सम्म चल्ने तालिममा शारिरीक अभ्यास, नैतिक शिक्षा, अनुशासन, इमान्दारीता, वफादारिता, राष्ट्रिय भावनाको विकास तथा विपदको समयमा उद्धार र राहत कार्यक्रममा स्वँयसेवकको भुमिका निर्वाह गर्न सक्ने लगायतका विषयमा विज्ञहरुबाट तालिम प्रदान गर्न लागिएको भिम दल गणका प्रमुख सेनानी गुप्त बहादुर कुँवरले जानकारी दिएका छन् । 
    प्रमुख सेनानी कुवँरले आयोजित तालिमले स्कुले किशोर किशोरी अनुशासित, साहसी र सक्षम नागरिकको रुपमा उदाउने विश्वास व्यक्त गरे । खास गरी मधेशी समाजमा सेना तथा सुरक्षाकर्मीप्रति रहेको सोचमा परिवर्तन ल्याउनुका साथै तालिमले बच्चाहरुलाई मौखिक र मानसिक दुबै दृष्टिकोणले सक्षम र साहसी नागरिक बनाउने उनको भनाई छ । 
    एकै साथ सुरु भएको तालिममा उत्कृष्ट हुने विद्यार्थीहरुले मित्र राष्ट्रहरु भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, भुटान, मालदिप्स र सिंगापृुर लगायतका देशमा गएर सहभागिता जनाउने अवसर समेत प्राप्त गर्ने प्रमुख सेनानी कुवँरले जानकारी दिए । 
    तालिमका दौरान सहभागीलाई दुध, जेरी, २ जोर युनिर्फम एवं ट्रयाकसुट समेत उपलब्ध गराइएको तालिमका संचालक भीमदलका गणले जनाएको छ ।