संजय साहलाई सञ्चार उद्यमी अरुण सिंघानियाको  हत्याको दोषी ठहर गर्दै जन्मकैदको फैसला

संजय साहलाई सञ्चार उद्यमी अरुण सिंघानियाको  हत्याको दोषी ठहर गर्दै जन्मकैदको फैसला

Wednesday, July 03, 2019

दैनिक समाचारदाता
जनकपुरधाम, १७ असार ।
    जनकपुरका सञ्चार उद्यमी अरुण सिंघानियाको हत्याको दोषी ठहर गर्दै जिल्ला अदालत धनुषाले पूर्वराज्यमन्त्री सञ्जय साह र मनक लामालाई मंगलबार जन्मकैदको फैसला सुनाएको छ ।
    न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलाशले साहलाई योजनाकार र मनक लामालाई सिंघानियाको हत्या गर्न गोली चलाएको दोषि ठहर गर्दै जन्मकैदको फैसला सुनाएको हो । 
    जनकपुर क्षेत्रबाट दुई पटक निर्वाचित र तत्कालीन फोरम लोकतान्त्रिकबाट भौतिक पूर्वाधार राज्यमन्त्री बनेका साह ६ बर्षदेखि पुर्पक्षका लागि थुनामै छन् ।
    सिंघानिया हत्या आरोपमा पक्राउ परेका एकलाल सहनी, पवन लामा र चनरदीप यादवलाई १० बर्षको कैद सुनाइएको छ । यस्तै रामविनोद यादवलाई ३ बर्ष कैद सुनाइएको छ । ओमप्रकाश यादव, रामकरण यादव र अन्सी राइनले सफाइ पाएका छन् भने मुकेश चौधरीलाई २० रुपैयाँ जरिवाना तोकिएको छ ।
    २०६६ साल फागुन १७ गते होली पर्वकै दिन जनकपुरको शिव चोकमा सिंघानियाँको गोली हानेर हत्या गरिएको थियो । उनको हत्या आरोपमा प्रहरीले पूर्वमन्त्री साहसहित रामविनोद यादव, अन्सी राइन, योगेन्द्र सहनी, मनक लामा, ओमप्रकाश यादव, मुकेश चौधरी र रामकरण यादवलाई पक्राउ गरेको थियो ।
    पूर्वराज्यमन्त्री साहलाई यसअघि नै जनकपुर बम विष्फोट मुद्दामा जन्मकैद फैसला सुनाइसकिएको छ । सात बर्षअघि सात जनाको ज्यान जाने गरी जनकपुरमा भएको बम विष्फोट घटनाका योजनाकार भएको भन्दै धनुषा जिल्ला अदालतले जन्मकैद फैसला सुनाएपछि उनी कारागारै जीवन बिताइरहेका छन् ।
    जिल्ला अदालतले १४ चैतमा पूर्वमन्त्री साह, मुकेशकुमार चौधरी र राजन मुक्ति भन्ने रन्जित साहलाई मुलुकी ऐनको ज्यानसम्बन्धी महल १३ को ४ को १५ बमोजिम ज्यान मार्ने उद्योगमा जन्म कैद र ज्यान मार्ने उद्योगमा १२ बर्षको कैद सजाय सुनाएको थियो । मिथिला राज्यको माग गर्दै जनकपुरको रमानन्द चोकमा धर्ना बसेको स्थलमै १८ वैशाख ०६९ मा बम विस्फोट भएको थियो ।