बाढीपहिरोबाट ९० को मृत्यु, २९ अझै बेपत्ता

Thursday, July 18, 2019

दैनिक समाचारदाता
काठमाडौं, २ साउन । 
    असारको अन्तिम साता वर्षासँगै आएको बाढीपहिरो र डुबानमा परेर अहिलेसम्म ९० जनाको मृत्यु भएको छ भने २९ जना अझै वेपत्ता रहेका छन् । 
    गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार विपद्मा परेर अहिलेसम्म २९ हराइरहेका र ४१ घाइते भएका छन् । 
    केन्द्रका प्रमुख वेदनिधि खनालले झण्डै १२ हजार घर धुरी विस्थापित भएकाले उनीहरुलाई अस्थायी आश्रयस्थलमा राखिएको जानकारी दिँदै विपद्मा परेर सबैभन्दा बढी रौतहटमा १० जनाले ज्यान गुमाएको बताए । 
    यस्तै ललितपुर र सिराहामा ६÷६ तथा मोरङ, भोजपुर, धनुषा, मकवानपुर र सिन्धुलीमा पाँच–पाँच जनाले ज्यान गुमाएको जनाइएको छ । 
    ओखलढुङ्गा, महोत्तरी र डोल्पामा चार–चार तथा झापा, खोटाङ, पर्सा, काभ्रेपलाञ्चोक र काठमाडौँमा तीन–तीन जनाको मृत्यु भएको छ । यस्तै सुनसरी, बारा, धादिङ र दाङमा दुई–दुई, इलाम, पाँचथर, सङ्खुवासभा, उदयपुर, सर्लाही रामेछाप, पाल्पा र कपिलवस्तुमा एक–एक जनाको मृत्यु भएको जनाइएको छ ।
    बेपत्ता हुनेमा सबैभन्दा बढी डोल्पामा सात, इलाम, मोरङ र सिन्धुलीमा तीन–तीन जना छन् । अहिलेसम्म सर्लाहीमा दुई हजार ४००, रौतहटमा एक हजार ११०, बारामा एक हजार ६६५, पर्सामा १२०, सिराहामा ५००, मोरङमा एक हजार ५३९ लगायत विभिन्न जिल्लामा गरेर झण्डै १० हजार घर विस्थापित भएको केन्द्रले जनाएको छ ।  
    बुधबार मात्र सरकारी उच्चस्तरीय टोलीले तराईको डुवान तथा बाढीको हवाई एवं स्थलगत निरीक्षण गरी स्थानीय अधिकारीमार्फत हालको अवस्था र राहत वितरण कार्यबारे जानकारी लिएको थियो ।