समाजवादी पार्टीको प्रदेश समिति अध्यक्षमा बिजय यादव

Wednesday, July 24, 2019

दैनिक समाचारदाता
जनकपुरधाम, ८ साउन । 
    समाजवादी पार्टीको मधेश प्रदेश समितिको बुधबार समायोजन भएको छ । 
    संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति एकीकरणपछि गठन भएपछि बुधबार जनकपुरमा आयोजित प्रदेश समिति समायोजन घोषणा कार्यक्रमबाट अध्यक्षमा विजय यादव चयन भएका छन् ।
    प्रदेश समिति समायोजन कार्यदलका संयोजक, पार्टीका उपाध्यक्ष एवं प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले अध्यक्षसहित ७० सदस्यीय नयाँ प्रदेश समितिको घोषणा गरेका हुन् । 
    नवगठित कार्य समितिको उपाध्यक्षमा रामपृत पासवान, उर्मिला साह, सुशिल यादव चयन भएका छन् भने मुख्य सचिवमा शम्भू झा, सचिवहरुमा दिनेश यादव, ज्ञानेन्द्र कुमार यादव र राम कैलाश यादव चयन भएका छन् ।
    त्यसैगरि कोषाध्यक्षमा रेणु यादव (सिरहा) चयन भएकी छन्। समायोजित समितिमा तत्कालिन संघीय समाजवादी फोरम नेपालको लहान अधिवेशनबाट निर्वाचित ५१ जना र नयाँ शक्तिबाट १९ जना रहेका छन ।
    पदाधिकारीहरुमा उपाध्यक्ष सुशिल यादव र सचिव राम कैलाश यादव नयाँ शक्ति तर्फबाट चयन भएका हुन् । अध्यक्ष सहितका अन्य पदाधिकारीहरु फोरमको कोटाबाट आएका हुन् । ११ पदाधिकारी सहितको ९९ सदस्यीय समितिमा २ उपाध्यक्ष सहित २९ सदस्यको पद खाली राखिएको छ । 
    समायोजन घोषणा कार्यक्रममा समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले संक्रमणकालमा रहेको मुलुकको निकासको लागि समुन्नत संघीय समाजवाद एक मात्र विकल्प रहेको बताए । विश्वकै राजनीति परिदृश्यमा पुजीवादी र साम्यवादी विचारधारा चरम संकटमा फँसेको भन्दै उनले त्यसको विकल्पमा आफुहरुले समुन्नत संघीय समाजवादलाई अघि सारेको बताए ।
    त्यस्तै कार्यक्रममा केन्द्रिय समिति अध्यक्ष उपेन्द्र यादवले समाजवादी पार्टी वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानमा जुटेको उल्लेख गर्दै त्यसका लागि थुप्रै पार्टीहरुसंग साकारात्मक छलफल चलिरहेको बताए । आफुहरु संविधान संशोधनको सर्तमा सरकारमा सहभागी भएको बोल्दै उपप्रधानमन्त्री समेत रहेका यादवले संविधान संशोधन नभए संघर्ष एक मात्र विकल्प रहने बताए ।