किसानहरुको समस्याप्रति निकाय निरिह

Monday, August 05, 2019

    सप्तरीमा हरेक वर्ष खेती गर्ने समयमा किसानहरुले विभिन्न समस्यासँगै जुद्धनु पर्ने बाध्यता रहेको छ । खेती गर्ने समयमा किसानहरुले आकाशे पानीको भर पर्नु परेको छ भने जसोतसो खेती गरेपछि उत्पादनलाई बढाउन मलखादको समस्या समेत झेल्नु परिरहेको छ । जिल्लामा कृषिको प्रसस्त सम्भावना हुँदा हुँदै पनि सिंचाईको उचित व्यवस्था नहुनुले किसानहरु निरास हुने गरेका छन् । यता खेती गर्न किसानहरु पानीको अभाव हुँदै गर्दा खेती गर्न कामदारहरुको समेत अभाव हुने गर्दछ । यी समस्याका बाबजुद किसानहरुलाई मलखादको अभाव हुनुले झनै मन पिरोलिन्छ । कृषि ज्ञान केन्द्रबाट सहुलियत दरमा मलखादको व्यवस्था गर्ने भने पनि किसानहरुले सो केन्द्रबाट कुनै सहुलियत दरमा मलखाद पाउने गरेका छैनन् । कीन भने सरकारले पठाएको सहुलियत दरको मलखाद किसानको हातमा पर्नु अघि नै हुनेखाने र विचौलियाको हातमा पर्न जान्छ । 
    सरकारले पठाएको अनुदानको ती मलखाद कर्मचारीकै मिलोमतोमा कमिसनको चक्करमा विचौलियाले खरीद गरेर सोही मलखाद किसानलाई बढी मुल्यमा बिक्रि गर्ने गरिएको पाइन्छ । किसानले सहुलियत दरमा पाउने मलखाद नीजी पसल संचालकले बढी मुल्य तिराउन बाध्य गरेका छन् । यसरी यी समस्याप्रति सम्बन्धीत निकायले ध्यान दिन नसक्दा किसानहरु झनै मर्कामा परेका छन् । जुन मलखादको मुल्य २ हजार ३ सय सहुलियत दरमा पाइन्छ त्यसको मुल्य ३ हजारमा बजारमा छ्यापछ्यापी पाउने गर्दछ । बिचरा गरिब किसानले खेतीका लागि बढी मुल्य तिरेर पनि मलखाद खरीद गर्नुपर्ने बाध्यता छ । यता सप्तरीमा आएको बाढीका कारण लगाइएको धान खेती डुवानमा परेर कुहिएर गएको छ । त्यो दुःख किसानहरुलाई छदैछ त्यसमा पनि सिचाई र मलखादको समस्या समेत उनीहरुले सास्ती व्यहोर्नु परेको छ । 
    तसर्थ यस्ता समस्या किसानहरुलाई नौलो होइन् यो विगत दुई दशकदेखी यसरी नै चल्दै आएको छ तर, सम्बन्धित निकाय मुकदर्शक बनेको अवस्था छ । अतः किसानहरुको समस्याप्रति निकाय र राज्य गम्भिर हुनु आवश्यक रहेको छ ।