छुवाछुत प्रथा उन्मूलन गर्न सबैको सहयोग आवश्यक

Sunday, August 11, 2019

    विभिन्न जात, समुदाय, वर्ग, लिङ्गका कारण छुवाछुत प्रथा अझै हाम्रो मुलुकमा कायमै रहेको छ । यो प्रथा गरिब, धनी सबै वर्गमा हालसम्म हायमै रहेको छ । छुवाछत गरिने भन्ने कुरालाई अहिले सबै भन्दा बढी धनीले गरिबलाई कुनै न कुनै बहानामा विभेद गरिरहेको देखिन्छ । जुनसुकै जातका गरिब व्यक्ति जुनसुकै जातका धनीबाटै अपहेलित हुँदै आएको सत्यतालाई हामीले स्वीकार्नै पर्दछ । तर, अहिलेको आधुनिक युगमा पनि समाजमा यस्ता भेदभाव हट्न नसक्नु मानसिकताको उपज मात्र हो भन्नुमा कुनै दुइमत नहोला । 
    सरकारले सामाजिक विकृती र बिसंगतिलाई न्यूनिकरण गर्न वर्षेणी अर्बौको बजेट विनियोजन गर्ने गरेको छ । तर, त्यसको प्रतिफल भने न्यून रहेको छ । 
जातिय भेदभावलाई निरुत्साहित गर्न संविधानमै उल्लेख भए पनि यसप्रति अहिले पनि समाज सचेत र गम्भिर भएको देखिदैन् । जसकारण जातको आधारमा छुवाछुतले आश्रय लिएको पाइन्छ । यता दलित अन्तरगत डोम समुदाय यसबाट बढी नै पीडित भएको पाइन्छ । डोम समुदायलाई शताब्दीदेखी नै  तल्लो कामका लागि प्रयोग गर्दै आएको देखिन्छ । तर, सोही डोम समुदायका व्यक्तिको हातबाट बनाइएको नाङ्गलो, सुप, ढक्की जस्ता बाँसका सामाग्रिहरु पुजापाठका क्रममा प्रयोग भएको पाइन्छ । ती सामाग्रिहरु बनाउने कला प्रकृतीले डोम समुदायका व्यक्तिहरुलाई मात्र दिएको छ । 
    मानवले कुनै पनि वहानमा छुवाछुत न्युनिकरण गर्न अझै पनि जनचेतना तथा आफ्नो मानसिकतालाई परिवर्तन गर्नु आवश्यक छ । तसर्थ हामी २१ औं शताब्दीमा छौं, यस्ता भेदभावलाई निरुत्साहित गर्न सबैले आफ्नो मानसिकतालाई नै परिवर्तन गरे केही क्षणमै छुवाछुतको गहिरो रोग हट्न सक्ने कुरालाई हामीले मनन् गर्नु आवश्यक रहेको छ ।