इतिहासविद् दासको निधन

Monday, August 12, 2019

दैनिक समाचारदाता
राजविराज, २७ साउन ।
    इतिहासविद् हरिकान्त लाल दासको ७८ वर्षको उमेरमा सोमवार दिउँसो निधन भएको छ ।
    महेन्द्र विन्देश्वरी वहुमुखि क्याम्पस राजविराजका अवकाशप्राप्त इतिहास तथा संस्कृति विभाग प्रमुख सह–प्राध्यापक दासको आफ्नै निवासमा निधन भएको हो । उनी त्रिभुवन विश्व विद्यालयमा ३७ वर्षसम्म सेवा गरी अवकाश जिवनयापन गर्दैआइरहेका थिए । 
    राजविराज वडा नं. ८ निवासी स्व. दास विगत केही वर्षदेखि मधुमेह र हृदयरोगबाट पीडित रहँदै आएका थिए । 
    इतिहासविद् दासका धर्मपत्नी विद्या देवी दास, दुई छोरी अर्चना, अञ्जली र एक छोरा सन्दीप छन् । उनको अन्तिम संस्कार पैतृक गाउँ गढियामा मंगलबार विहान गरिने धर्मपत्नी विद्या देवीले जानकारी दिएकी छिन् ।  
    सप्तरीका साथै मिथिला क्षेत्रको धार्मिक, ऐतिहासिक एवम् प्राचीन इतिहासबारे गहन अध्ययन अनुसन्धान गरेका उनको आधा दर्जन भन्दा बढी कृतिहरु प्रकाशित छन् । 
    उनको पहिलो कृतिको रुपमा ‘सप्तरीको राजनीतिक इतिहास एवम् प्रमुख धार्मिक स्थलहरु’ २०५८ सालमा प्रकाशन भएको थियो । यस्तै साझा प्रकाशनबाट उनको २०६७ सालमा ‘सप्तरी जिल्लाका प्रमुख ऐतिहासिक गढीहरु’ नामक पुस्तक प्रकाशित छन् । 
    उनको अर्को कृति ‘सप्तरी जिल्लाका प्रमुख सांस्कृतिक स्थलहरु एक अध्ययन’ नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट २०६० सालमा प्रकाशित भएको थियो । 
    यस बाहेक प्राचीन विदेह, सिम्रौनगढ, सेनवंशी शासनकाललगायतका विषयमा समेत उनको अध्ययन अनुसन्धान तथा शोधहरु पूर्णिमा, वाणी, आँगनलगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका पत्रपत्रिकाहरुमा समेत नेपाली र मैथिली भाषामा प्रकाशन छन् । 
    गहन अध्ययन–अनुसन्धान एवम् शोध तथा कृति प्रकाशन वापत एक दर्जनभन्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार एवम् सम्मान प्राप्त गरेका छन् । मैथिली साहित्य परिषद् र चित्रगुप्त सेवा समितिको पूर्व अध्यक्ष समेत रहेका उनी लेखनमा सक्रिय रहँदैआएका थिए ।