प्रतिनिधिसभा सदस्य डा. सूर्यनारायणद्वारा राजिनामा

Tuesday, August 13, 2019

दैनिक समाचारदाता
राजविराज, २८ साउन । 
    सप्तरी क्षेत्र नं. १ बाट प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित सदस्य डा.सूर्यनारायण यादवले पदबाट राजिनामा दिएका छन् । 
    तत्कालीन संघीय समाजवादी पार्टीको उम्मेदवार भई निर्वाचित भएका यादवले सभामुख कृष्णबहादुर महरा समक्ष राजिनामाको निवेदन दिएका छन् । 
    मृगौला र मधुमेहसम्बन्धी रोगबाट पीडित रहेको भन्दै सांसद यादव बेला बेलामा बेहोस हुने गरेकाले स्वास्थ्यका कारण राजीनामा दिएको बताए । 
    यता राजिनामा फिर्ता लिन समाजवादी पार्टी नेपालले उनलाई आग्रह गरेको छ । यद्दपी सांसद यादवको राजिनामा सभामुखसमक्ष आएको तर, स्वीकृत भई नसकेको सभामुखका प्रेस सल्लाहकार डिल्ली मल्लले जानकारी दिएका छन् । 
    समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले राजिनामा फिर्ता लिनका लागि डा.यादवलाई आग्रह गरिएको जानकारी दिए । उनको राजिनामा स्वीकृतिका लागि पार्टीले सभामुखलाई पत्र नपठाएकाले अझै पनि राजिनामा फिर्ता हुने सम्भावना रहेको बताए ।