कृष्णाअष्टमीको अवसरमा कतै कलस यात्रा, कतै मेलाको आयोजना

Friday, August 23, 2019

दैनिक समाचारदाता
राजविराज, ६ भदौं । 
    प्रत्येक वर्ष कृष्णाअष्टमीका दिन मनाईने भगवान श्रीकृष्णको जन्म उत्सव यस बर्ष पनि विभिन्न धार्मिक कार्यक्रमको आयोजना गरि मनाईदैछ ।
    सो अवसरमा राजविराजमा कतै कलस यात्रा कतै मेला र नाटक मञ्चन त कतै श्रीकृष्णको कलात्मक मुर्ती र भव्य पण्डाल निर्माण गरी पुजा पाठ गर्दै यो पर्व मनाईदै छ ।
    श्रीकृष्णाअष्टमी मनाउन प्रदेश २ सरकारले सार्वजनिक बिदा दिएपछि ग्रामिण तथा शहरी क्षेत्रमा, पर्वको थप रौनक छाएको छ ।
    यता शुक्रवार र शनिवार लगातार दुई दिन बिदा परेपछि बाहिरका जिल्लामा अध्ययन अध्यापन, रोजगारी, सरकारी जागिरे र निजी संघ संस्थामा काम गर्नेहरू पनि बिदाको सदुपयोग गर्दै कृष्णाअष्टमी पर्वमा घर फर्केपछि रौनकता अझ थपिएको हो ।


    यस अवसरमा शुक्रवार जिल्लाको कृष्णमन्दिरहरूलाई बेहुली झै श्रृंगारिएको छ भने, कतिपय मन्दिर प्रागणमा भब्य मेला लागेको छ । 
    त्यस्तै बिष्णुपुर गाउपालिकाको रंजितपुरस्थित चन्द्रराधा कृष्णमन्दिरवाट सदरमुकाम राजबिराज सम्म कलश यात्रा निकालिएको छ ।
    कलश यात्रामा सयौ महिला, पुरूष तथा बालवालिकाहरू सहभागी थिए, कलश यात्राका सहभागिअरूले बर्षाको प्रवाहा नगरी धार्मिक यात्रामा सहभागी भएका थिए ।
    यस अवसरमा डाक्नेश्वरी नगरपालिका ४ स्थित कृष्ण मन्दिर प्रागणमा दुई दिने मेला समेतको आयोजना गरिएको छ । मेलामा मनोरन्जनका लागि ग्रामिण युवा कलाकारहरूले नाटक समेत मञ्चन गर्ने कार्यक्रम रहेको स्थानिय सत्य नारायण यादबले बताए ।
    घरघरमा महिला, पुरूष पनि कृष्णाअष्टमी व्रत र मेलाको तैयारीमा जुटेका छन । सदरमुकाम राजबिराजस्थित लक्ष्मीनारायण राधाकृष्ण मन्दिरका साथै रंजितपुरस्थित चन्द्रराधा कृष्णमन्दिर तथा मलेठस्थित राधाकृष्णा मन्दिरले शनिवार बिहान भव्य कृष्णरथ यात्रा निकाल्ने तैयारी गरेको मन्दिर समितिले जनाएको छ ।