अमेरिका–तालिबान वार्ता संकटमा

Sunday, September 08, 2019

वासिङ्टन, २२ भदौ (रासस÷एपी) ।
    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा युद्धरत तालिबान र अफगानी नेताहरुसँग यसै सप्ताहान्तमा आयोजना गर्न खोजिएको गोप्य बैठक रद्द गरेको बताउनुभएको छ । 
    राष्ट्रपति ट्रम्पले तालिबान समूहले गत साता काबुलमा गराएको कारबम आक्रमणबाट एक जना अमेरिकी सैनिक समेत १२ जनाको मृत्यु भएपछि वार्ता रद्द गरेको बताउनुभएको छ ।
    शनिबार ट्वीट गर्दै उहाँले अफगानी विद्रोही समूह तालिबानसँगको शान्ति प्रक्रिया पनि स्थगन गरिएको घोषणा गर्नुभएको छ ।
    राष्ट्रपति ट्रम्पको शनिबारको उक्त ट्वीट आश्चर्यजनक मानिएको छ । किनभने राष्ट्रपति स्वयम्ले अफगानी विद्रोही र अरु नेताहरुलाई राष्ट्रपति निवासको भोजमा निमन्त्रणा दिनुभएको थियो । आतंकवादी संगठन अल–कायदाले सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा गरेको भिषण आक्रमणको वार्षिक स्मृति दिवसको पूर्वसन्ध्यामा यो कार्यक्रम आयोजना हुन लागेको थियो ।
    अमेरिकामा आक्रमणलगत्तै अल–कायदाका नेता ओशामा बिन लादेन लुकेर बसेको अफगानिस्तानमा अमेरिकाले आक्रमण गरी तत्कालीन तालिबानी सरकारलाई अपदस्थ गरेको थियो । अल–कायदा र तालिबान विरुद्ध सन् २००२ यता भएका कारबाहीका क्रममा अफगानिस्तानमा दुई हजार ४०० भन्दा बढी अमेरिकी सैनिकको ज्यान गइसकेको छ ।
    वार्ता रद्द गरेको घोषणापछि राष्ट्रपति ट्रम्पले अफगानिस्तानबाट तत्काल पाँच हजार सैनिक कटौती गर्ने प्रस्ताव पनि अन्यौलमा परेको छ । हाल अफगानिस्तानमा १३ देखि १४ हजार अमेरिकी सैनिक तैनाथ छन् । झण्डै १८ वर्ष अफगानिस्तानमा रहेको अमेरिकी सेनाले हाल अफगानी सेनालाई तालिम, सल्लाह र हवाई सुरक्षा प्रदान गरिआएको छ ।