जनतासँग सम्बन्ध अझ प्रगाढ बनाउँदै सेना 

Wednesday, September 18, 2019

दैनिक समाचारदाता
राजविराज, ३१ भदौं । 
    सेना र जनताबीचको सम्बन्ध अझ प्रगाढ बनाउन अहिले नेपाली सेना अघि बढेको छ । 
    सधै अन्तराष्ट्रिय शान्ति स्थापना, प्राकृतिक सम्पदाको संरक्षण तथा राष्ट्रको विकास निर्माण लगायतका काममा खरिहने सेना केही समय निकालेर जनताबीच सम्बन्ध प्रगाढ गर्न लागि परेको हो । 
    यसै सन्दर्भमा मंगलबार राजविराजमा नेपाली सेनाले तराई मधेशका संचारकर्मी तथा नागरिक प्रतिनिधिसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । 
    नेपाली सेना, समारोह श्रव्य दृष्य महाशाखा तथा भिमदलगणको संयुक्त आयोजनामा सम्पन्न अन्तरक्रियाको मुख्य उद्देश्य सेना र आमजनता विचको सम्बन्ध अझ प्रगाढ बनाउनु रहेको प्राविधिक महासेनानी ईश्वर कुमार श्रेष्ठले जनाए । 
    उनले सेनाको बारेमा आउने केही कुराले कहिलेकाही भ्रम सृजना गर्ने गरेकोले सोही भ्रमलाई हटाउन सेना जनतासँग सम्बन्ध प्रगाढ गर्न प्रयास गरेको बताए । उनले सेनामा हालै थालिएको विभिन्न पदको भर्ना कार्यक्रममा कुनै सोर्सफोर्स नचल्ने तथा योग्य र सक्षमले मात्र प्रवेश पाउने प्रतिबद्घता पनि जनाए । 
    यस्तै महासेनानी सोवेन्द्र महतले संचारकर्मी तथा समाजका अगुवाहरुको सहयोग साथ र सु्झाव चाहिएको बताए । विगतमा पनि नेपाली सेना र जनताविचको कसिलो सम्बन्धले नै विपद जोखिमका बेला काम गर्न सहज भएको सुनाउँदै भिमदलगणका प्रमुख सेनानी गुप्त बहादुर कुवरले यो सम्बन्ध अझ उचाईमा पुर्याउन खोजिएको बताए । 
    कार्यक्रममा प्राविधिक प्रमुख सेनानी प्रधुम्न पौडेल, सेनानी रविन अधिकारी, सह सेनानी अनिल यादव लगायतले सेना पूर्ण रुपमा न्यूटल संस्था भएको बताउँदै सेना, समय, परिवेस र जनभावना अनुसार रुपान्तरण हुने बताए । 
    कार्यक्रमका सहभागी संचारकर्मी तथा नागरिक अगुवाहरुले सेनाले थालनी गरेको नागरिकसँगको संवादले तराई मधेशमा साकारात्मक संदेश जाने बताउँदे सेना र नागरिक मिलेर काम गर्नुपर्नेमा जोड दिएका थिए ।
    कार्यक्रममा नेपाली सेनाले विभिन्न समयमा गरेको साकारात्मक कार्य सम्पादन झल्कने चार वटा वृतचित्र र लघुकथा पनि प्रस्तुत गरिएको थियो ।