चिसोबाट बच्न अहिलेदेखी नै सचेत होऔं

Wednesday, November 27, 2019

    मंसिरदेखी माघ महिनासम्म चिसो हुने मौसम हो । विगतका केही वर्षहरुमा सप्तरीमा चिसोका कारण गरिब, निमुख्खा सयौं जनताले कठ्याङिग्रएर ज्यान गुमाइसकेका छन् । सप्तरी लगायत तराईका जिल्लाहरुमा विगतका केही वर्षदेखी निकै चिसो हुने गरेको छ । यसको मारमा गरिब, निमुख्खा जनता पर्ने गरेका छन् । दुई छाक टार्न समेत धौं धौं पर्ने ती जनताहरुले न्यानो कपडाको अभावमा अकालमै ज्यान गुमाउनु परेको छ । यसका लागि जिल्लामा अत्यन्त चिसो भएको बेला विभिन्न संघसंस्था तथा सरकारी निकायबाट न्यानो कपडा बितरण समेत गर्ने गरिन्छ ।
    अहिले त्यति चिसो नभएपनि अबको आउने दिनहरुमा चिसो बढ्न सक्छ । जसकारण अहिलेदेखी नै सरोकारवालाहरुले गरिब, निमुख्खा जनताहरुका लागि न्यानो कपडाको व्यवस्था मिलाउने तर्फ अग्रसर हुनु पर्दछ भने ठाउँ ठाउँमा आगो ताप्नका लागि मुढा बाल्ने योजना समेत बनाउन अग्रसर हुनुपर्दछ । 
    यस्ता दैबी प्रकोपका घटनाहरु एक दिन मात्र भयो भने मानिसमा निकै प्रभाव पार्दछ । अहिले केही पहाडी जिल्लाहरुमा जाडो बढ्न सुरु भइसकेको छ । तसर्थ तराईमा पनि जाडो बढ्न सक्ने सम्भावना रहेकोले त्यसबाट बच्न अहिलेदेखी नै सम्बन्धीत निकायले तयारी गर्नुपर्ने आवश्यकता रहेको छ ।