विद्यार्थी संख्याको अनुपातमा शिक्षक संख्या समायोजन हुने

विद्यार्थी संख्याको अनुपातमा शिक्षक संख्या समायोजन हुने

Wednesday, December 11, 2019

दैनिक समाचारदाता
काठमाडौं, २५ मंसिर । 
    सरकारले १ सय २३ स्थानीय तहबाट ४ हजार ८ सय ५२ शिक्षक दरबन्दी र राहत अनुदान कोटा अन्य स्थानीय तहमा हस्तान्तरण हुने जनाएको छ । त्यसमध्ये १४ जिल्लाको ३३ सय ५९ शिक्षक दरबन्दी तथा राहत अनुदान कोटा अन्य जिल्लामा हस्तान्तरण हुनेछ ।
    सरकारले सामुदायिक विद्यालयमा विद्यार्थी संख्याको अनुपातमा शिक्षक संख्या समायोजन गर्ने र आगामी शैक्षिक सत्र शुरु हुनुअघि नै दरबन्दी मिलान सक्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।
    विद्यार्थी संख्याको अनुपातमा बढी शिक्षक दरबन्दी रहेको विद्यालयबाट कम दरबन्दी रहेको विद्यालयमा शिक्षक पठाइने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिएका छन् ।
    १५ जिल्लाभित्र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा १४ सय ९३ दरबन्दी तथा राहत अनुदान कोटा मिलान हुनेछ । त्यस्तै एक प्रदेशबाट अर्को प्रदेशमा १०५ वटा दरबन्दी तथा राहत कोटा मिलान हुनेछ ।
    शिक्षामन्त्री पोखरेलका अनुसार ताप्लेजुङ, इलाम, झापा, सुनसरी, काभ्रे, ताप्लेजुङ, भक्तपुर, काठमाडौं, रसुवा, चितवन, गोरखा, लमजुङ, नतहुँ, स्याङ्ज्या, कास्की, मनाङ, मुस्ताङ, बाग्लुङ, पाल्पा, अर्घाखाँची, डोल्पा र दार्चुला जिल्लाका सामुदायिक विद्यालयमा शिक्षकको दरबन्दी बढी छ । दरबन्दी मिलानबाट यी जिल्ला प्रभावित हुनेछन् ।
    मन्त्रालयका अनुसार हाल देशभर प्राथमिक तहमा ८०,१७६, निम्न माध्यमिक तहमा १६,२४४, माध्यमिक तहमा १२,७२५ शिक्षक दरबन्दी रहेको छ । त्यस्तै साविकको उच्च माध्यमिक तहमा दुई हजार दरबन्दी र ४ हजार राहत अनुदान कोटा रहेको छ ।
    प्राथमिक तहमा २१,८७१, निम्न माध्यमिक तहमा ९,६०९ र माध्यमिक तहमा ६,८९८ राहत अनुदान कोटा रहेको छ ।