बीमा गराउँदा आफ्नो सम्पत्ति  कालोधन नभएको प्रमाणित गर्नुपर्ने

बीमा गराउँदा आफ्नो सम्पत्ति  कालोधन नभएको प्रमाणित गर्नुपर्ने

Saturday, December 21, 2019

दैनिक समाचारदाता
काठमाडौं, ४ पुस । 
    अबदेखी जीवन बीमा गर्दा जो सुकैले आफ्नो सम्पत्ति कालोधन नभएको अनिवार्य रुपले प्रमाणित गर्नु पर्ने भएको छ । 
    जीवन बीमा गर्दा बीमत स्वयम्ले कालोधन नभएको प्रमाणित गर्नुपर्ने नयाँ व्यवस्था लागू भएको हो । यता १९ वटै बीमा कम्पनीहरुले बीमा गराउँदा बीमित स्वयमबाट सम्पत्ति शुद्धिकरण नियम अनुसारको विवरण भरेर हस्ताक्षर गराउन सुरु गरेको छ ।
    बीमा क्षेत्रमा सम्पत्ति शुद्धिकरण सम्बन्धी प्रावधान केही अघिदेखि नै लागू भएको भएपनि सम्पत्ति शुद्धिकरण सम्बन्धी विवरण लेखेर हस्ताक्षर गर्नुपर्ने नियम लागू भने भर्खरै सुरु भएको हो । 
    नेशनल लाईफ इन्स्योरेन्सले आफ्ना अभिकर्ता तथा जिल्लास्थित सबै शाखा प्रमुखहरुलाई सम्पत्ति शुद्धिकरण सम्बन्धी १० पृष्ठ लामो निर्देशिका नै पठाएर कार्यान्वयनमा ल्याएको छ ।
    त्यस्तै, एलआईसी इन्स्योरेन्सले पनि बीमिति स्वयम्लाई कालोधन नभएको प्रमाणित गर्नुपर्ने व्यवस्था लागू गरेको छ । नयाँ तथा पुराना गरी १९ वटै जीवन कम्पनीहरुले सम्पत्ति शुद्धिकरण सम्बन्धी प्रावधान राखेर बीमित स्वयम्लाई हस्ताक्षर गराउन थालिएको हो । 
    बीमितले आफूसँग कालोधन नभएको र कुनै पनि छानविन गर्न चाहेमा आफ्नो मन्जुरी रहेको भन्ने व्यवहोरामा हस्ताक्षर गराउने गरिएको छ ।
    त्यस्तै, नेपाल लाईफले पनि कालोधन प्रशोचन हुन नदिन आवश्यक बीमा गर्दा बीमितिलाई नै कालोधन नरहेको स्वघोषणा गर्नुपर्ने व्यवस्था लागू गरिसकेको छ । 
    बीमा समितिले सम्पत्ति शुद्धिकरण विभागकै अधिकारीहरुलाई सहभागी गराएर गत कार्तिक ७ गते ४० वटै बीमा कम्पनीका जिम्मेवार अधिकारीहरुलाई बोलाएर कालोधन रोक्ने प्रावधान लागू गर्ने सम्बन्धमा आवश्यक निर्देशन दिएको इन्स्योरेन्स खबरले जनाएको छ ।