सन् २०१९ मा विश्वभरी पत्रकार हत्यामा सोह्र वर्ष यताकै कमी

सन् २०१९ मा विश्वभरी पत्रकार हत्यामा सोह्र वर्ष यताकै कमी

Monday, December 23, 2019

काठमाडौँ, ६ पुस (रासस) ।
    विश्वका विभिन्न ठाउँमा भइरहेको द्वन्द्व र अनुदारवादी शासन व्यवस्थाका कारण हरेक वर्ष सयौँ पत्रकारको हत्या हुने गरेको छ । यस वर्ष भने पत्रकारको हत्याका घटनामा केही कमी आएको छ । सन् २०१९ प्रेस स्वतन्त्रता, पत्रकारिता र लोकतन्त्रका लागि यो तथ्याङ्कलाई केही सुखद् भएपनि सन्तोष मान्ने अवस्था भने नरहेको अधिकारकर्मीको भनाइ छ । 
    हालै सार्वजनिक भएको विवरणअनुसार सन् २०१९ मा संसारभर ४९ जना पत्रकारको हत्या भएको छ । तर अघिल्लो वर्ष विश्वका ९४ जना पत्रकारको हत्या भएको तथ्यांक सार्वजनिक भएको थियो । पछिल्लो दुई दशकमा औषतमा प्रत्येक वर्ष ८० पत्रकारको हत्या हुने गरेको जनाइएको छ । 
    ‘रिपोर्टर्स विथाउट वोर्डर’ले गत मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदनमा हत्या हुने पत्रकारको सङ्ख्या गत १६ वर्षयताको सबभन्दा कम भएको उल्लेख गरिएको छ । हत्या गरिएका पत्रकारको सङ्ख्यामा ऐतिहासिकरुपमा कमी आएको रिपोटर्स बिथाउट बोर्डरको भनाइ छ । 
    सबैभन्दा धेरै पत्रकार मारिएको वर्ष सन् २००६ थियो । त्यसवर्ष मात्रै १५५ जना पत्रकार मारिएका थिए । यो सङ्ख्यामा आमसञ्चार सङ्स्थामा कुनै न कुनैरुपमा काम गर्ने सबैलाई जोडिएको छ । सन् २०१८ मा हत्या गरिएका पत्रकारको सङ्ख्या सन् २०१७ कोभन्दा बढी भएपनि इराक र सिरियामा युद्ध चर्किएको बेलामा जस्तो धेरै भने थिएन ।
    गएको १६ वर्षमा अफगानिस्तान पत्रकारका लागि सबैभन्दा खतरनाक देशका रूपमा कायम छ । काबुलमा एउटा बम विस्फोटको समाचार सङ्कलन गर्न गएका नौ अफगानी पत्रकार मारिएका थिए । दोस्रो आत्मघाती विस्फोट पत्रकारकै भेष धारण गरेका आक्रमणकारीले गराएका थिए । पत्रकार हत्याका घटनामा अहिले भने कमी आएको छ । 
    लामो समयदेखि द्वन्द्वग्रस्त मुलुकमापनि अघिल्ला वर्षको तुलनामा यस वर्ष पत्रकार हत्याका घटना कम भएको पाइएको छ । द्वन्द्वरत पक्ष कमजोर हँुदै गएको, पत्रकार हत्याका बारेमा उनीहरुको सतर्कता र सचेतना बढेको पत्रकारको हत्या हुँदा संसारभरीबाट आक्रोस र आलोचना भएर बद्नाम हुनेगरेको, पत्रकारको हत्यामा संलग्न भएको पक्षलाई असहयोग र अप्ठ्यारो बढी पर्ने गरेकोलगायतका कारणले हत्याका घटनामा कमी आएको विश्लेषण गरिएको छ । 
    त्यसैगरी कतिपय मुलुकमा भने द्वन्द्वको अवस्थामा सुधार आएको र शासन व्यवस्था र तथा शासक पनि परिमार्जित हुन बाध्य भएकाले पत्रकार हत्याका घटना कम भएको हुनेसक्ने विज्ञको भनाइ छ । 
    अघिल्लो वर्ष अर्थात सन् २०१८ मा भने पछिल्ला तीन वर्षमा घट्दै गएको पत्रकार एवम् सञ्चारकर्मीको हत्याको घटनामा फेरि बृद्धि भएको थियो । समाचार सङ्कलन, सम्प्रेषण र प्रसारण तथा प्रकाशन गर्ने क्रममा वा गरे वापत मारिएका सञ्चारकर्मी र पत्रकारको संख्या सन २०१८ मा सबैभन्दा बढी अफगानिस्तान र सवै भन्दा कम प्यालेस्टाइन र ग्वाटेमालामा रहेको थियो । 
    प्रतिवेदमा जनाइएअनुसार गतवर्ष सन् २०१८ मा अफगानिस्तानमा १६, मेक्सिकोमा ११, यमनमा नौ, सिरियामा आठ, भारतमा सात, पाकिस्तानमा पाँच, सोमालियामा पाँच, अमेरिकामा पाँच, फिलिपिन्समा तीन, इक्वेडरमा तीन, ब्राजिलमा तीन, कोलम्बियामा दुई, प्यालेस्टाइनमा दुई र ग्वाटेमाला दुई जना पत्रकार मारिएका थिए । सूचना सङ्कलनको दौरानमा पत्रकारसँगै मारिएका चालक, अन्य सहयोगी र सुरक्षा अधिकारीलाई भने यसमा गणना गरिएको छैन । 
    समाचार सङ्कलनप्रतिको असहिष्णुता, लोकप्रियतावादका साथसाथै भ्रष्ट्राचार र अपराध नै पत्रकार मारिनुका प्रमुख कारण भएको आइएफजेको ठम्याई छ । विषेशगरी द्वन्द्व जारी रहेको मुलुक यमन, सिरिया र अफगानिस्तान पत्रकारको हत्याका घटनामा आएको अन्तरराष्ट्रिय सङ्घ संस्था तथा निकायले जनाएका छन् । पेरिसमा कार्यालय रहेको पत्रकारितासम्बन्धी अध्ययन अनुसन्धान गर्ने संस्थाले पत्रकारिता अझै पनि जोखिमपूर्ण पेशाका रुपमा भने रहि नै रहेको उल्लेख गरेको छ ।
    संस्थाका प्रमुख क्रिस्टोफ डेलोइरले मेक्सिकोमा मात्रै यसै वर्षमा १० पत्रकारको हत्या हुनुले अझै पनि चिन्ताजनक अवस्थालाई झल्काउने बताउनुभयो । ल्याटिन अमेरिकी देशमा कुल १४ पत्रकार मारिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । उहाँले द्वन्द्वग्रस्त लोकतान्त्रिक शासन व्यवस्था भएका देशमा पत्रकारिता गरेकै कारण पत्रकार मारिनुले लोकतन्त्रलाई नै चुनौती थपेको विश्लेषण गर्नुभयो । 
    सन् २०१९ भरिमा ३८९ पत्रकारलाई बन्दक बनाइएको र त्यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा १२ प्रतिशत बढी भएको पनि सो संस्थाले जनाएको छ । तीमध्ये आधाजति पत्रकार चीन, इजिप्ट र साउदी अरब गरी तीन देशमा बन्दी बनाइएका हुन् । सिरिया, यमन, इराक र युक्रेनसहित विश्वभर अहिले पनि ५७ जना पत्रकार कारागार मै रहेका पनि सो प्रतिवेदनमा उल्लेख छ । 
    सन् २०१८ मा भने टर्कीमा ६८, चीनमा ४७, इजिप्टमा २५, साउदी अरेबिया र इरिट्रिया १६ पत्रकार थुनामा परेका थिए । यी देश धेरै पत्रकारलाई थुन्ने देशमा परेका हुन् भने अन्य देशमा पनि पत्रकारलाई थुन्ने गरिएको आइएफजेको प्रतिवेदनमा जनाइएको छ । 
    पत्रकार हत्याका घटनामध्ये साउदी पत्रकार जमाल खासोग्जीको हत्याको घटना संभवतः सवैभन्दा चर्चित घटना बन्न पुग्यो । सन् २०१८ मा भएको यो हत्याकाण्डले लामो समयसम्म संसारभर चर्चा भएको थियो । साउदी अरबका राजकुमार र अमेरिकासँग जोडिएर घटनाले विश्वव्यापी चर्चा पाएको हो । यसले कुटनीतिक क्षेत्रमा पनि धेरै उथलपुथल ल्याएको थियो । सन् २०१८ को अक्टोबरमा टर्कीस्थित साउदी वाणिज्यदूतावासको कार्यालयभित्र खासोग्जीको हत्यापछि टर्कीसँगै अमेरिका र साउदी अरबसँग सवै देशहरु पक्ष र विपक्षमा विभाजित भएका थिए । 
    संसारभरी द्वन्द्वरत पक्ष र शासकको तारो सवैभन्दा बढी पत्रकार हुने गरेको पाइएको छ । पत्रकारलाई दवाउन र भगाउन सकेमा आफ्ना कमी कमजोरी र कर्तुत बाहिरिन नपाउने भएकाले उनीहरुले पत्रकारलाई निषेध र नियन्त्रणका लागि अप्रिय कदम चाल्ने गरेका हुन्छन् । 
    पत्रकारलाई दवाउन खोज्दा त्यसको नकारात्मक असर झन बढी पर्ने गरेको तीतो अनुभव पनि ती शासक र द्वन्द्वरत पक्षले महशुष गर्न थालेर होला अहिले पत्रकार हत्याका घटना भने कम हुनथालेका छन् । बाँकी शासक र द्वन्द्वरत समूहले पनि पत्रकारको हत्याबाट आफ्नो पक्षमा फाइदा भन्दा बेफाइदा धेरै छ भन्ने बुझ्न सकेमा विश्वमा प्रेस स्वतन्त्रता र लोकतन्त्रको प्रबद्र्धन भई निरंकुशता र अशान्तिमा कमी आउने आधार तयार हुन्छ ।