नरिवलको रक्सी खाँदा आठको मृत्यु, सयौँ अस्पताल भर्ना 

नरिवलको रक्सी खाँदा आठको मृत्यु, सयौँ अस्पताल भर्ना 

Monday, December 23, 2019

मनिला, ७ पुस (रासस÷एएफपी) ।
    नरिवलको रक्सी सेवन गर्दा फिलिपिन्समा कम्तीमा आठ जनाको मृत्यु भएको छ । 
    रक्सीकै कारण बिरामी भएका अरू सयौँ जना अस्पताल भर्ना भएका अधिकारीहरूले सोमबार जानकारी दिएका छन् ।  
    उनीहरूले सेवन गरेको रक्सीमा ‘मेथनल’ भन्ने पदार्थ अत्यधिक धेरै भएकाले असर गरेको हुनसक्ने विश्वास गरिएको छ ।
    राजधानी मनिलादेखि दक्षिणपूर्वी क्षेत्रमा पर्ने रिजाल भन्ने ठाउँमा भएको हप्तान्त भेलामा सहभागी भएर रक्सी सेवन गरेकाहरूमध्ये केहीको मृत्यु भएको र केही बिरामी भएका हुन् । 
    रक्सी सेवन गरेपछि उनीहरूले शुरुमा पेट दुखेको बताएका थिए । बिरामी भएका मध्ये नौ जनाको अवस्था गम्भीर रहेको राजधानी मनिलास्थित फिलिपिन्स जनरल अस्पतालका प्रवक्ता जोसे जोनास डेल रोसारिओले जानकारी दिनुभयो ।
    रक्सी सेवनका कारण बिरामी भएका ३०० जना अस्पतालमा भर्ना भएका उहाँले बताउनुभयो । उनीहरू सबैको बिरामीको कारण एउटै देखिएको चिकित्सकहरूको भनाइ छ ।
    क्रिसमसको अवसरमा अत्यधिक माग हुने यस रक्सीको बेचविखन, वितरण र सेवनमा प्रतिबन्ध लगाउन स्थानीय सरकारले आदेश दिएको छ ।
    बजारमा बिक्री वितरणका लागि पाइने नरिवलको अधिकांश रक्सी स्थानीय बासिन्दाले नै बनाउने गर्दछन् । रक्सी बनाउने अधिकांश स्थानीय बासिन्दा पछाडि पारिएको समुदायका हुने गरेका छन् । 
    पछाडि पारिएको अशिक्षित समूदायले बनाउने यस प्रकारको रक्सीमा गुणस्तर राम्रो नहुने गरेकाले धेरै उपभोक्ता बिरामी हुने गरेको चिकित्सकहरूको भनाइ छ ।