माघ १० भित्र माँग पुरा गर्ने लिखित प्रतिबद्धतापछि छिन्नमस्ताको धर्ना स्थगन,  वार्तामा गापा अध्यक्ष र उपाध्यक्ष अनुपस्थित 

माघ १० भित्र माँग पुरा गर्ने लिखित प्रतिबद्धतापछि छिन्नमस्ताको धर्ना स्थगन, वार्तामा गापा अध्यक्ष र उपाध्यक्ष अनुपस्थित 

Tuesday, January 14, 2020

दैनिक समाचारदाता
राजविराज, २९ पुस ।
    सप्तरीको छिन्नमस्ता गाउँपालिकामा विगत १५ दिनदेखी जारि धर्ना कार्यक्रम मंगलबारदेखी स्थगन भएको छ । 
    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुन्दन कुमार कर्ण र सम्पूर्ण वडा अध्यक्षहरुले माघ १० गतेसम्म आन्दोलनरत पक्षहरुको १४ बुँदे माँग पुरा गर्ने लिखित प्रतिबद्धता जनाएपछि सो धर्ना स्थगन गरिएको नेकपा छिन्नमस्ता गाउँपालिका संघर्ष समितिका संयोजक बिनोद यादवले जानकारी दिएका छन । 
    सोमबार गाउँपालिकाको कार्यालयमा भएको वार्तामा ती माँगहरु बारे प्रमुख प्रशासकीय अधिृकत र वडा अध्यक्ष तथा सदस्यहरुले लिखित प्रतिबद्धता जनाए पनि सो क्रममा गाउँपालिका अध्यक्ष र उपाध्यक्षको उपस्थ्तिि भने थिएन् ।  
    गाउँ परिषद् अविलम्ब गर्नुपर्ने, सामाजिक सुरक्षा भत्ता तत्काल उपलब्ध गराउनु पर्ने, उपभोक्ता समितिद्वारा सम्पन्न भइसकेका कामहरुको भुक्तानी हुनुपर्ने तथा विभिन्न अनियमितताको छानबिन हुनुपर्ने लगायतका १४ बुँदे माँग सार्दै संघर्ष समितिको अगुवाईमा धर्ना दिइएको थियो । यसअघि ती माँग मध्ये गत बिहीबार धर्ना कार्यक्रमकै बीचमा सामाजिक सुरक्षा भत्ता बितरण गरिएको थियो । 
    विभिन्न १४ बुँदे माग राखेर गत पुस १५ गतेदेखी नेकपा छिन्नमस्ता गाउँपालिका संघर्ष समितिले बिहान १० बजेदेखी १ बजेसम्म धर्ना दिँदै आएको थियो ।