धनुषाको महेन्द्रनगर बम काण्डका मुख्य योजनाकार सप्तरीबाट पक्राउ

धनुषाको महेन्द्रनगर बम काण्डका मुख्य योजनाकार सप्तरीबाट पक्राउ

Thursday, February 13, 2020

दैनिक समाचारदाता
राजविराज, १ फागुन ।
    धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरस्थित राजेश साहको घरमा मंसिर २७ गते राति भएको बम बिष्फोटलगायतको घटनाका मुख्य योजनाकारका रुपमा रहेका साहस भनिने इन्दल साहलाई प्रहरीले सप्तरीबाट पक्राउ गरेको छ । साहलाई प्रहरीले मोस्टवान्टेड सूचीमा राखेको थियो । 
    जिल्ला अदालत धनुषाबाट कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, बिष्फोटक पदार्थ सम्बन्धि कसुर र संगठित अपराध मुद्दामा कसुर ठहरी फरार रहेका साहलाई प्रहरीले सप्तरीको सुरुङ्गा नगरपालिका ६ बाट पक्राउ गरेको हो । 
    नेत्रविक्रम चन्द समूहका प्रदेश कमिटी ब्यूरो सदस्य समेत रहेका धनुषाधाम नगरपालिका ६ सरस्वतीपुर बस्ने ३४ वर्षिय साहस भनिने इन्दल साहलाई बिहीबार सुरुङ्गा नगरपालिका ६ श्रीपुर बस्ने एक व्यक्तिको घरमा चन्दा माग्दै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाइएको छ । 
    मंसिर २७ गते महेन्द्रनगरमा भएको बम विस्फोटमा परी इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा कार्यरत प्रहरी निरीक्षक अमिरकुमार दाहाल, घरधनी राजेश साह र निजका छोरा आनन्दकुमार साहको मृत्यु भएको थियो । बम विस्फोटमै परेर राजेशका बुबा भिखारी साह, राजेशका अर्का छोरा प्रकाश साह, राजेशकी छोरी अञ्जली साह, छिमेकी अकवर मन्सुर, सकिला खातुन, निक्की साह र प्रहरी जवान रिजनाथ महतो घाइते भएका थिए ।