संकटको घडीमा सरकार र जनताबीच हातेमालो आवश्यक

संकटको घडीमा सरकार र जनताबीच हातेमालो आवश्यक

Monday, June 15, 2020

    हाल नेपालसहित विश्व नै महामारीको रुप लिएको कोरोनाको संक्रमणबाट त्रसित रहेको छ । विगत तीन महिनादेखी फैलिएको यो महामारीका कारण सम्पूर्ण विश्वको अर्थतन्त्र नै धरापमा परेको छ । यता नेपालमा यस महामारीका कारण जनता त्राहिमाम हुनुका साथै बेरोजगारीको समस्याले समेत जडो गाड्दै गएको छ । यस्तो अवस्थामा नेपाली जनताले दुई छाक टार्न सरकारले गरेको लकडाउनको समेत उलंघन गर्दै जसोतसो चुलो बाल्ने उपायहरु निकाल्न थालेका छन् । 
    यसरी विगत तीन महिनाको लकडाउनका कारण सरकारको ढुकुटी समेत कमजोर बनेको छ भने जनता ऋणको मारमा पिरोलिएका छन् । यस्तो बेलामा सरकारले विभिन्न राहतका प्याकेजहरु सृजना गरेर जनतालाई रोजगारीको अवसरका लागि प्रेरित गरि बेरोजगारी हुनबाट रोक्नु पर्नेहुन्छ । तर, सरकारले सो कार्य नगरेर उल्टै बैंकको ब्याज तथा सरकारलाई तिर्नु पर्ने सम्पूर्ण कर समयअवधी तोकेर ताकेता गर्न थालेको छ । फलस्वरुप जनता कोरोना र सरकार दुबैको मारमा परेको अवस्था छ । 
    जनताले तिर्दै आएको विभिन्न प्रकारको राजश्व र कर सरकारको यस्तै अवस्थामा काम लाग्ने हो । र जनतालाई पनि यस्तै आर्थिक संकट हुने बेलामा सरकारले सहयोग गर्ने बेला हो । तर, सरकारको उल्टो रबैयाका कारण जनता आर्थिक मारमा परेका छन् । तसर्थ सरकारले जनताको हितका लागि केही गर्ने बेला नै यही हो । यसका लागि सरकार र जनता हातोमाले गरेर यस संकटको बेलामा सँगै हिड्नु अहिलेको माँग हो ।