मलखादको अभावले खेतीमा असर पुग्ने सम्भावना

मलखादको अभावले खेतीमा असर पुग्ने सम्भावना

Friday, June 19, 2020

    कोरोना भाइरसको त्रासले मुलुक विभिन्न समस्याले गुज्रिरहेको अवस्थामा अहिले किसानहरुलाई खेती गर्न समेत धौं धौं भइरहेको छ । कोरोनाको कहरले झण्डै तीन महिना लकडाउन भएको नेपालमा असार महिना लाग्ने बित्तिकै खेती गर्न किसानहरु लागिपरेका छन् । जलश्रोतको धनी भनिने नेपालमा खेती गर्न सिचाईको उचित व्यवस्था हुन सकेको छैन् । नेपालमा आकाशे पानीकै भरमा खेती हुने गरेको छ । यी विधमान समस्या हुँदा हुँदै दशकौंदेखी किसानहरुले भोगिरहेको अर्को समस्या हो मलखादको । 
    सरकारले मलखादको आपूर्ती गर्न नसक्दा किसानहरु सोझै मारमा पर्ने गरेका छन् । सरकारले खेती गर्न चाहिने मलखादको व्यवस्था गर्न नसक्दा यहाँका किसानहरु भारतीय मलखादको भरमा खेती गर्न बाध्य हुने गरेका छन् । अहिले कोरोनाका कारण भारतीय नाकाहरु बन्द रहेको बेला नेपालमा पाइने मलखाद सरकारी मुल्य भन्दा दोब्बरमा पनि पाउन सकिरहेका छैनन् । यता कालाबजारी गर्नेहरुले सरकारी कर्मचारीको मिलोमतोमा सरकारी मलखाद आफ्नो गोदाम भरिरहेका छन् । सोही मलखाद ती गरिब किसानहरुले अहिले बढी मुल्य तिरेर पनि पाउने अवस्था छैन् । 
    तसर्थ सरकारले यस्ता समस्याको समाधान गरेर कालाबजारी गर्नेहरुलाई कानुनी दायरामा ल्याएर कारवाही गर्न अग्रसरता देखाउनु जरुरी छ । होइन् भने मलखादकै अभावले आउने दिनमा कृषी उत्पादनमा कमी आउने कुरामा दुइमत नहोला ।