News Category 2071/11/06

मुलुकभरी शिवरात्री पर्व मनाइयो

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ५ फागुन । 
हिन्दूहरुको महान पर्व शिवरात्री भव्यतापूर्वक मनाइएको छ । सदरमुकाम राजविराजस्थित हरिनन्देश्वर महादेवसहित शम्भुनाथस्थित शम्भुनाथ मन्दिर, धर्मपुरस्थित धर्मेश्वर महादेवको मन्दिर, घोघनपुर, महदेवा, लालापट्टी स्थित हरिनन्दन महादेब मन्दिर, कंचनपुर लगायत बिभिन्न ठाउँमा रहेको शिवालयहरुमा पूजापाठ गरिएको छ । 
यता राजविराजस्थित हरिनन्देश्वर महादेव मन्दिरमा सप्तकोशी व्यारेजको पवित्र जल काँवरमा ल्याई रिसाल गरिएको काँवरिया अध्यक्ष रामप्रित मण्डलले जानकारी दिनुभयो । 
सो अवसरमा मन्दिर प्राङ्गनमा नेपाल सहकारी संस्था राजविराजको सहयोगमा  काँवारियाहरुलाई चिसो पेय पदार्थ, पानी, सर्वत, फलफुल लगायत प्रदान गरेको संस्थाका व्यवस्थापक शंकर प्रसाद साहले जानकारी दिनुभयो । त्यस्तै शिवरात्रीको अवसरमा विभिन्न संघ संस्थाले श्रद्धालु भक्तजनहरुलाई फुल, बेलपत्र जल प्रदान गरेका थिए । 
शिबरात्रीकै अवसरमा राजविराजस्थित ब्रह्रमाकुमारी राजयोग सेवा केन्द्र राजविराजले २१ फिटको शिवलिङ्ग स्थापना गरेको छ भने शिवशक्ति अनुभुति शान्ति यात्रा समेत निकालिएको थियो । 
यसैगरि धर्मपुर ८ स्थित भीरमा रहेको उक्त मन्दिरमा हरेक वर्ष हजारौं श्रद्घालु भक्तजनहरुले पूजापाठ गरेका थिए । महाशिवरात्रीको अवसरमा यहाँ भव्य मेला समेत लागेको छ । धर्मपुरसहित जिल्लाको रुपनगर, कञ्चनपुर, बदगामा, बरमझिया, ठेलिया, घोघनपुर, जगतपुर र बकधुवा सहितका बासिन्दाहरु आउने गर्दछन । 
यसैगरी रुपनगर ३ स्थित रहेको त्रिमार्ग शिवालय मन्दिर घोघनपुर बलुवा रहेको भजनेश्वर महादेव र कञ्चनपुर ६ स्थित रहेको शिवालय मन्दिरमा पनि पुजापाठ गर्न भक्तजनहरुको धुँईचो लागेको थियो । 
भगवान शंकर र पार्वतीको विवाह भएको स्मरणमा यो पर्व मनाइने धार्मिक प्रचलन रहेको छ ।
यसैगरि महाशिवरात्रिकै अवसरमा काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको थियो । बिहान १ बजेदेखि नै भक्तजनको भीड लागे पनि ३ बजे मात्र पशुपतिका चार ढोका खोलिएको थियो । पशुपतिको मूल मन्दिरमा चार ठाउँबाट प्रवेश गर्ने व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष तारानाथ सुवेदीले जानकारी दिनुभयो ।
यस वर्षको शिवरात्रिमा १० लाख भक्तजनले पशुपतिको दर्शन गरेको नेपाल भारत मैत्री परिषद्का प्रमुख संयोजक सुरेश ठाकुरले बताउनुभयो । 
पशुपति क्षेत्रमा विभिन्न सङ्घसंस्थाले निःशुल्क स्वास्थ्य शिविर, निःशुल्क चियापान एवम् भण्डाराको व्यवस्था गरेका थिए । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट