News Category 2071/11/27

सप्तरीमा एसएलसीका लागि ३३ परीक्षा केन्द्र निर्धारण १४ हजार २ सय ६१ परीक्षार्थीहरु सहभागि हुने

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजबिराज, २६ फागुन ।
आगामी चैत ५ गते सुरु हुने प्रवेशिका अर्थात् एसएलसी परीक्षामा सप्तरीबाट १४ हजार २ सय ६१ जना परीक्षार्थीहरु सहभागि हुने भएका छन् । 
जसमध्ये नियमित तर्फ ८ हजार ७ सय १ र एक्जामटेड तर्फ ५ हजार ५ सय ६० जना परीक्षार्थीहरु सहभागि हुने जिल्ला शिक्षा कार्यालय सप्तरीका परीक्षा शाखा प्रमुख बिरेन्द्र चौधरीले जानकारी दिनुभयो । 
त्यस्तै जिल्लामा कुल ३३ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ भने कुल १ सय १२ वटा निजी तथा सामुदायिक विद्यालयहरुको सो परिक्षामा सहभागि हुने प्रमुख चौधरीले जानकारी दिनुभयो ।
मुलुकभरीमा यस वर्षको प्रवेशिका एसएलसी परीक्षामा नियमिततर्फ चार लाख २७ हजार ८२ र एक्जामटेडतर्फ एक लाख ४५ हजार १२५ विद्यार्थी गरि कुल ५ लाख ७२ हजार २ सय ७ विद्यार्थी सहभागी हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । 
कार्यालयका अनुसार परीक्षामा मनाङमा सबैभन्दा थोरै ७४ जना र सबैभन्दा धेरै काठमाडौँमा ३४ हजार ४२१ विद्यार्थी एसएलसी परीक्षामा सहभागी हुने छन् ।
त्यसैगरी पूर्वाञ्चलबाट एसएलसी दिने विद्यार्थीको सङ्ख्या एक लाख ३५ हजार ३०५ छ भने मध्यमाञ्चलबाट एक लाख ७८ हजार ६६० विद्यार्थीले एसएलसी परीक्षा दिने भएका छन् ।
पश्चिमाञ्चलमा एक लाख एक हजार ७६१, मध्यपश्चिमाञ्चलमा ८६ हजार ७४८ र सुदूरपश्चिमाञ्चलमा ६९ हजार ६८८ विद्यार्थी एसएलसीमा सहभागी हुने कार्यालयले जानकारी दिएको छ । 
परीक्षाका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा प्रश्नपत्र छपाइ कार्य अन्तिम चरण रहेको छ । त्यसैगरी परीक्षाका लागि आवश्यक सामग्री जिल्ला–जिल्ला पठाउन थालिएको सो कार्यालयले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट