News Category 2070/04/04

मोवाइल चोरी गरेको भन्दै दलित बालिकाको हत्या

दैनिक समाचारदाता

दैनिक संवाददाता
रुपनगर (सप्तरी), ३ साउन ।
समाज हिंस्रक बन्दै गएको पुष्टि गराएको छ एक जना महिलाले सप्तरीको वैरवा गाविसमा । मोवाइल चोरीको आरोप लगाउँदै एक दलित बालिकालाई ती महिलाले कुटपिट गरी ज्यान लिएका छन् ।
वैरवा गाविस ३ दक्षिण डुबानस्थित मामा घरमा बस्दै आएकी बालिकाको हत्या गरिएको हो । बुधबार साँझ वैरवा गाविस–८ निवासी संगीता पौडेलले बालिकालाई कुटपिट गरेकी थिइन् । कुटपीटबाट टाउकोमा गम्भीर चोट लागेकी बालिकाको बुधबारै राति ८ बजेतिर ज्यान गएको हो ।
मृत्यु हुनेमा जगतपुर गाविस ४ बस्ने ठण्डा खंगकी १२ बर्षीया छोरी कारो खंग छिन् । उनी वैरवा गाविस ३ स्थित आफ्नो मामा घरमा बस्दै आएकी थिइन् ।
पौडेलले मोवाइल चोरेको आरोप लगाउँदै निर्घात कुटपिट गरेको स्थानीयहरुले बताएका छन् । कुटपिट गर्ने २२ बर्षीया संगीतालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिहीबार बिहान घट्नास्थल पुगेको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय कंचनपुरको नियन्त्रणमा राखेर पौडेलको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यता मृतक खंगको शवलाई बिहीबारै राजविराजस्थित गजेन्द्र नारायण सिंह अंचल अस्पतालमा पोष्टमार्टका लागि ल्याइएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट