News Category 2071/12/20

ढलेको रुख लैजाने सम्बन्धमा कुटपिट हुँदा एकको मृत्यु, तीन घाइते

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १९ चैत । 
सप्तरीको बरहीविरपुर गाविसमा हावाले ढलेको रुख लैजाने सम्बन्धमा विवाद भएपछि कुटपिट हुँदा एकजना बृद्धाको बिहीबार मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।  
स्थानीय छिमेकीहरुले गरेको कुटपिटबाट बरहीबीरपुर गाविस ४ की ७० बर्षीया राजबतीदेवी रायको मृत्यु भएको हो । कुटपिटबाट गम्भीर घाइते भएकी उनलाई राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा प्राथमिक उपचार गराई थप उपचारका लागि बि.पि. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
स्थानीय शिक्षक समेत रहेका शिबानन्द राय निजका दाई विद्यानन्द राय, भाई कमानन्द राय, विद्यानन्दकी पत्नी बिन्दु, कमानन्दकी पत्नी रेणुसहितकाले कुटपिट गरेको मृतकका छोरा बेचन रायले जानकारी दिनुभयो । 
कुटपिटबाट बेचनकी ४५ वर्षीया पत्नी बिणादेवी राय, छोरी १८ बर्षीया हेमपुष्पा कुमारी राय र १० बर्षीया सिमा कुमारी राय समेत घाइते भएको र उनीहरुको अंचल अस्पतालमा उपचार भइरहेको छ भने हेमपुष्पाको अवस्था गम्भिर रहेको छ ।  
शिक्षक शिबानन्द र बेचनको जग्गाको सिमानामा रहेको सिसौको रुख हावाका कारण ढलेपछि उक्त रुख आफ्नो घरमा ल्याउँदा उनीहरुले घरभित्रै पसेर कुटपिट गरेको बेचनको भनाई छ । 
प्रहरीले कुटपिटमा संलग्न विद्यानन्दकी पत्नी बिन्दु, कमानन्दकी पत्नी रेणुलाई पक्राउ गरेको छ । अन्य व्यक्तिहरु फरार रहेका कारण उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट