News Category 2071/12/21

कीर्ते गरी नागरिकता बनाउने प्रशासकीय अधिकृतसहित १२ जनालाई जरिवाना र कैद

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २० चैत । 
जिल्ला अदालत राजविराजले कीर्ते गरी नागरिकता बनाएको अभियोगमा एक प्रशासकीय अधिकृतसहित १२ जनालाई जरिवाना र कैदको फैसला सुनाएको छ । 
जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत तेजेन्द्रबहादुर कार्की, काचन गाविसका सचिव नवोनाथ मिश्र र प्रहरी चौकी काचनका प्रहरी सहायक निरीक्षक सत्यनारायण महतो तथा सनाखत बस्ने अन्य ९ जनामाथि एक वर्षको कैद र जनही रु २० हजारका दरले जरिवाना फैसला सुनाएको हो । 
जिल्ला न्यायाधीश रामप्रसाद अधिकारीको एकल इजलासले उनीहरूलाई बिहीबार कैद र जरिवानाको फैसला गरेको हो । 
प्रशासकीय अधिकृत कार्की, गाविस सचिव मिश्र र असई महतोलाई प्रहरीले १० महिनाअघि नै पक्राउ गरी किर्ते नागरिकताको मुद्दा चलाएको थियो । 
यस्तै सनाखत बसेका काचन गाविसका शिबचरण यादव, बुद्धिलाल दास, सतदेवी चौधरी, पंजागदेवी चौधरी, नन्दी यादव, चलितर दास तत्मा, कामेश्वर यादव, जिबछ ठाकुर शर्मा र होरिल यादवलाई समेत इजलासले कैद र फैसला सुनाएको अदालतले जनाएको छ । 
काठमाडौँ महानगरपालिका–१ बस्ने प्रह्लादशम्शेरका छोरा ज्योतिशम्शेरका नाममा सप्तरी काचन २, ३, ४, ६ र ७ मा रहेको करिब २४ बिघा जग्गा हडप्ने नियतले स्थानीयवासी एक व्यक्तिलाई जग्गाधनी ज्योतिशम्शेरका नाममा झुठो विवरण पेस गरी नागरिकता बनाइदिएको अभियोगमा प्रशासकीय अधिकृत कार्की, गाविस सचिव मिश्र र प्रहरी महतोलाई सप्तरी प्रहरीले गत वैशाखमा पक्राउ गरी कीर्ते नागरिकताको मुद्दा चलाएको थियो ।
ज्योतिशम्शेरका नामबाट ती अपरिचित युवकको तस्बिर टाँसी गत वैशाख महिनामा जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिइएको थियो । ती व्यक्तिको नाममा जारी भएको १६–०१–७१–००५९४ नंको नागरिकता प्रमाणपत्रमा प्रशासकीय अधिकृत कार्कीको हस्ताक्षर रहेको बताइएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट