News Category 2072/01/18

सप्तरीमा भूकम्पबाट ३ सय १३ जना प्रभावित

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १७ बैशाख । 
गत शनिबार आएको महाभूकम्पबाट सप्तरीमा २ सय ३२ परिवारका ३ सय १३ जना प्रभावित भएका छन् । 
जिल्ला दैवी प्रकोप उद्धार समितीको बिहीबार बसेको बैठकमा सप्तरीका प्रहरी उपरिक्षक शिशिर कर्माचार्यले जानकारी दिनुभयो । 
उहाँले भूकम्पमा सप्तरीमा भएको क्षतिको विवरण प्रस्तुत गर्नुहुँदै इटहरी विष्णुपुर गाविस ३ का विरेन्द्रकुमार साहको भाग्ने क्रममा मृत्यु भएको जानकारी दिनुभयो । यस्तै भूकम्पमा जिल्लाका १६ जना घाईते, पक्की घर ५५, कच्चि १ सय २७ गोठ ५, कम्पाउण्डवाल ४४ घरमा क्षति भएको बताउनुभयो । 
त्यसैगरी विद्यालय, क्याम्पस ६ र सकारी कार्यालयका ३ वटा भवनमा र ३ वटा मठ मन्दिरमा क्षति पुगेको कर्माचार्यले जानकारी गराउनु भयो । 
यसैगरि सोही बैठकमा भुकम्पपीडित सप्तरीवासीलाई काठमाण्डौबाट ल्याउन  निःशुल्क बस परिचालन गर्ने निर्णय गरेको छ ।
समितिका अध्यक्ष एवं सप्तरीका प्रमुख जिल्ला अधिकारी विरेन्द्र कुमार यादवको अध्यक्षतामा सम्पन्न बैठकले पहिलो चरणमा पाँचवटा बसबाट ल्याउने निर्णय गरेको हो । सोको ब्यबस्थापनका लागि राजबिराज नगरपालिकाका कार्यकारी प्रमुख विष्णु गुरुङ्गको संयोजकत्वमा आभासेतु सिंह र भिमसेन चौधरी रहेको तीन सदस्यीय समिति गठन गरेको छ ।
बस ब्यबस्थापनका लागि जिबिस र राजविराज नगरपालिकाले श्रोत ब्यबस्थापन गर्ने समितिका सदस्य सचिव एवं स्थानीय विकास अधिकारी कोमल धमलाले बताउनुभयो ।   
बैठकले भुकम्पमा परि अन्य जिल्लामा हराएका वा मृत्यु भएकाहरुको समेत जिल्लामा अध्यवधि गरि अभिलेख राख्ने र सोकालागि सूचना जारी गर्ने निर्णय गरेको छ । सोही बैठकले अन्य जिल्लामा घाईते भई आएकाहरुको थपउपचार गर्न जिल्लाका अस्पतालहरुलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
बैठकले राहत संकलन गर्न जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउनु पर्ने र राजनैतिक दल तथा उद्योग वाणिज्य संघका नेतृत्वमा मात्र राहत संकलन गर्ने ब्यवस्था गरिने निर्णय गरेको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट