News Category 2070/04/09

नेपालकै पहिलो टाउन प्लानिङ बजार अव्यवस्थित बन्दै

दैनिक समाचारदाता


नवीनकुमार गुप्ता
राजविराज, ८ साउन ।
नेपालकै पहिलो टाउन प्लानिङ राजविराज नगरपालिका अहिले अव्यवस्थित बन्दै गएकोे छ । भारतको गुलाबी सहरको नामले प्रख्यात जयपुर सहरको नक्सामा आधारित राजविराज सहर (तत्कालिन राजविराज बजार) को टाउन प्लानिङ बि.स. १९९९ सालमा तत्कालिन वडा हाकिम प्रकाश शम्शेरले गराउनु भएको थियो ।
बि.स. १९९० मा कोशीको बाढीले हनुमाननगरमा वडा हाकिमको कार्यालय र अन्य कार्यालयहरुलाई बगाउँदै बि.स. १९९९ मा विकल्पको रुपमा राजविराज बजारको स्थापना भएको हो ।
बि.स. १९९९ सालमै ६० विगहामा यो बजार बसाइएको हो भने ८ विगहामा कर्मचारीको नाममा प्लट स्वर्ण टोल (लंका टोल) मा बितरण गरिएको हो । त्यस्तै १० विगहामा तत्कालिन कचहरी लाइन (हाल अदालत रोड) मा सरकारी कार्यालयहरु स्थापना गरिएको हो ।
बि.स. २०१५ सालको प्रजातन्त्रिक आम निर्वाचन पश्चात् २०१६ सालमा पहिलो पटक राजविराज बजारको नाम परिवर्तन गरि राजविराज नगरपालिका (ःगलष्अष्उबष्तिथ) राखियो । यस नगरपालिकको पहिलो चेयर म्यान यमुनानन्द मिश्र हुनुहुन्थ्यो ।
७८ विगहामा फैलिएको यो सहरको बजार, बस पार्क, टेम्पु स्टेण्ड, माइक्रो स्टेण्ड, हाट बजार लगायत अहिले अव्यवस्थित हुदै जाँदा इतिहास बोकेको यस नगरपालिकाप्रति सम्बन्धीत निकायले कुनै चासो समेत देखाउन सकेको छैन ।
यस अघि बि.स. २०१५ सालमा राजविराज ४ स्थित पूर्वमेयर गोबिन्द सिंहको घरदेखी बैष्णवकाली मन्दिरसम्मको जग्गा बैलगाडा (कार्ट स्टेण्ड) स्टेण्डको रुपमा प्रयोग भइरहदा सरकारी उदासिनताका कारण निजि स्वार्थका लागि घरहरु निर्माण गरिएको वरिष्ट पत्रकार अनिल कुमार अनलले बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “करिब ८ बिगहा क्षेत्रफल रहेको उक्त जग्गालाई प्रयोग गरेर त्यहा बस स्टेण्ड निर्माण भएको भए सहरको सौन्दर्यता अझ बढ्ने थियो ।”
हाल सडक छेउमा बनाइएको पेटीलाई समेत व्यापारीहरुले निजि प्रयोजनका लागि प्रयोग गरेकाले बटुवाहरु बीच सडकबाटै हिड्न बाध्य भएका छन् । ट्राफिक नियमलाई पालना गर्न झुण्ड्याइएको होडिङ बोर्डलाई बेवास्ता गरि यातायात व्यवसायीहरुले सडकको बीचमै बसहरु पार्किङ गर्ने गरेका छन् जस कारण यहाँ दैनिक दुर्घटना समेत हुने गरेको छ ।
यता घर निर्माणका सामाग्रिहरु पनि बिच बाटोमै राख्नाले यातायातमा कठिनाई हुने गरेको छ । अर्को तर्फ फोहरका कारण बजार दुर्घन्धित बनेको छ । समयमा नरपालिकाले सरसफाई नगर्दा बजार फोहर बनको हो । बिहान ५ बजे बजारको सरसफाई गरिसक्नु पर्ने हो तर नगरपालिकाका कुचिकारहरु अधिकांश ज्यालादारी रहेकाले उनीहरु आफ्नै मनमानी ढंगले काम गर्दै आइरहेका छन् ।
नगरपालिका भित्रै निर्माण गरिएको तरकारी हटिया बजार जुन अहिले नगरकै मुटुमा केन्द्रित रहेका छ त्यो पनि अहिले अव्यवस्थित भई तरकारी मात्र नभई, दाउरा, खसी, बोका, दुघ, माछा, मासु, माटोका भाडाँकुडाँ लगायत अन्य दैनिक उपभोग्य बस्तुहरुको बिक्रि केन्द्र बनिसकेको छ जसले गर्दा तरकारी बजारलाई साँगुरो बनाएको छ ।
यद्दपी तरकारी बाहेक अन्य सामाग्रिका लागि सोही हाट बजारमा बेग्लै स्थान छुट्याइए पनि एकै ठाउँमा अव्यवस्थित तरीकाले बजार लाग्ने गर्दछ ।
यो तरकारी बजार सम्भवत नेपालकै पहिलो प्लानिङ गरि बनाइएको तरकारी बजार हो । विगत एक दशक अघिदेखी बद्धशाला निर्माणका लागि छुट्याइएको रकम समेत फ्रिज हुने गरेको छ । जसले गर्दा नगरवासीले सडक छेउमा बिक्रि गर्न राखिएको अस्वस्थ्यकर माछा, मासु खरीद गर्न बाध्य भएका छन् ।
नेपालको पहिलो टाउन प्लानिङ राजविराज नगरपालिकामा दुईवटा सार्वजनिक शैचालय रहेपनि अहिले दुबै शैचालय प्रयोगबिहीन अवस्थामा रहेको छ । ठाउँ ठाउँमा बनाइएको पिसाब घर समेत नगरपालिकाको हेलचक्राईले टुटफुट भई फोहर भएको छ ।
यस्तै मालपोत सडक खण्डको बिचमै साताको दुई दिन सोमबार र बिहीबार सडक बीचमै सखी बाख्राको हाट लाग्ने गर्दछ । यसका लागि नगरपालिकाले कुनै पशुहाट बजारको व्यवस्था गरेको छैन् भने बीच सडकमै लाग्ने हाटप्रति कुनै चासो समेत देखाएको छैन् । जसले गर्दा बटुवाहरुलाई सो सडकबाट हिडडुल गर्न सास्ती व्याहोर्नु पर्दछ ।
यता डेढ दशक अघि निर्माण भएको राजदेवी बस पार्क जिर्ण हुँदै गएको छ । बस पार्क अहिले गौचरणमा परिणत भएको छ ।
नगरपालिकाका पूर्व मेयर जगरनाथ दास भन्नुहुन्छ “आजभन्दा २० वर्ष अगाडी जस्तो थियो राजविराज नगरपालिका अहिले पनि ज्यूँको त्यूँह नै छ” । उहाँ भन्नुहुन्छ “आफू मेयर हुँदा सम्पन्न गरेको काम ब्यवस्थित हुनु पर्नेमा अहिले कतिपय भौतिक संरचनाहरु झन अव्यस्थित भई जिर्ण भइसकेको छ” ।
त्यस्तै अर्का पूर्व मेयर गोबिन्द सिंह भन्नुहुन्छ “आफ्ना पालामा नगर विकासका निम्ति सडकहरु फराकिलो गर्ने कामको थालनी गर्दा त्यस बखत निकै आलोचना खेप्नु परेको थियो” । उहाँले सडक फराकिलो गर्ने काम जति गर्नु भयो त्यती नै अहिले पनि छ । बरु सडकलाई अतिक्रमण गरि निजि स्वार्थका लागि स्थानीय व्यक्तिहरुले प्रयोग गरेकाले साँगुरो हुँदै गएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट